इटहरीः नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औद्योगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न बेलायती राजदूत निकोला पोलिटसँग आग्रह गरेको छ । 

राजदूत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरूले प्रदेशको आर्थिक विकासमा सहयोग गर्न आग्रह गरेका हुन् । भेटघाटमा महिला उद्यमीहरूले साना तथा लघु उद्यमलाई प्रोत्साहनमूलक कार्यक्रमहरूमार्फत सहयोग गर्न पनि राजदूत पोलिटसँग आग्रह गरेका छन् ।

महासंघका प्रदेश १ अध्यक्ष टिकाराज ढकालले राजदूत निकोला पोलिट र डेपुटी राजदूत लुक विउमोन्टलाई स्वागत गर्दै प्रदेश १ का पहाडी क्षेत्रमा औषधि उद्योगहरू स्थापनाको सम्भावना रहेकोले बेलायती लगानी भित्र्याउनका लागि सहज हुने बताए । 

त्यसैगरी कोभिड–१९ र पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिका कारण नेपाली निर्यातमूलक उद्योगहरू प्रभावित भएको दुतावासको टोली समक्ष जानकारी गराए । प्रदेश १ मा औद्योगिक प्रदर्शनी स्थलको निर्माण हुन सके घरेलु उद्योगीहरूले समेत आफ्ना उत्पादनलाई प्रवद्र्धन गर्ने अवसर प्राप्त गर्ने उनको भनाइ थियो । 

कार्यक्रममा सहभागी महिला उद्यमीहरू सरु केसी, प्रतिभा रिजाल, कृति श्रेष्ठ लगायतले उद्योगहरूमा महिला सहभागीता अभिवृद्धिमा बेलायत सरकारले कार्यक्रमहरू संचालन गर्नुपर्ने बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले प्रदेश १ मा जलविद्युत्, कृषि उत्पादन र खनिज पदार्थमा ठूलो सम्भावना भएपनि प्रविधिको अभावमा प्रयोग गर्न नसकिएको बताए । त्यसका लागि बेलायत सरकारले समेत सहयोग गर्न सक्नेतर्फ राजदूत पोलिटको ध्यानाकर्षण गरे । साथै औद्योगिक प्रदर्शनी स्थल निर्माणमा समेत सहयोग गरिदिन आग्रह गरे । 

कार्यक्रम बोल्दै राजदूत निकोला पोलिटले नेपालको औद्योगिक विकासका लागि बेलायती सहयोगका कार्यक्रमहरूमार्फत सहयोग गर्दै आइरहेको जानकारी दिइन् । उनले भनिन्, “विराटनगरलाई मैले पनि नेपालकै दोस्रो ठूलो सहर र आर्थिक तथा औद्योगिक क्षेत्रका रूपमा चिनेकी छु ।” 

आफू प्रदेश १ को औद्योगिक अवस्था बुझ्न आएको र सोमबार बिहान मात्रै ट्राइकोट उद्योग, रघुपति जुटमिलमा स्थलगत जानकारीहरू लिएको जानकारी उनले दिइन् ।