ब्राजिलः बाह्य संसारको सम्पर्कबाट टाढा रहेको ब्राजिलको एउटा आदिवासी समूहका अन्तिम सदस्यको मृत्यु भएको छ । 

विगत २६ वर्षदेखि पूर्णतः एक्लै बस्दै आएका ती व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । 

उनले जमिनमा गहिरा प्वालहरू खन्ने गरेकाले उनी ‘म्यान अफ होल’ उपनामबाट चिनिएका थिए । उनले ती प्वालहरू जनावरहरू फसाउन र आफै लुक्नका लागि प्रयोग गर्ने गरेका थिए । 

अगस्ट २३ मा उनलाई उनको परालको झुपडी बाहिर झुलामा मृत अवस्थामा फेला पारिएको थियो । 

त्यहाँ कुनै हिंसाको संकेत थिएन । उनको त्यो लोपोन्मुख आदिवासी समूहका अन्य ६ जना सदस्यको सन् १९९५ मा हत्या भएको थियो । 

यो समूह बोलिभियाको सिमानासँग जोडिएको रोन्डोनिया राज्यको तानारु आदिवासी क्षेत्रमा बस्थ्यो । सत्तरीको दशकमा आफ्नो भूमि विस्तारका लागि पशुपालन गर्नेहरूले यस समूहका अधिकांश सदस्यको हत्या गरेका थिए । 

करिब ६० वर्ष उमेरका ‘म्यान अफ होल’को मृत्यु प्राकृतिक कारणबाटै भएको हुनुपर्ने अनुमान गरिएको छ । 

उनी बसेको क्षेत्रमा कोही पुगेको वा उनको झुपडीभित्र कसैले केही चलाएको जस्तो नदेखिए पनि उनको शवको पोस्टमार्टम गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 

ब्राजिलको संविधानअनुसार आदिवासीहरूको परम्परागत जमिनमा हक हुन्छ । तर, त्यस्ता जग्गा कब्जा गर्न खोज्दा उनीहरूको हत्या गर्ने गरिएको पाइन्छ । 

सन् १९९६ देखि ब्राजिलको आदिवासी मामिला निकाय (फुनाइ)का एजेन्टहरूले उनको सुरक्षाका लागि उनीमाथि निगरानी राख्दै आएका थिए । सन् २०१८ मा जंगलमा संयोगवश जम्काभेट हुँदा ती एजेन्टहरूले उनको फिल्म खिच्न सफल भएका थिए । -बीबीसीबाट