धरानः भदौ १६ गते देखि पिडितको बचत फिर्ता दिन सुरु गर्ने बराह बचत तथा ऋण सहकारीले तत्काल पैसा फिर्ता दिन नसक्ने बताएपछि पिडित संघर्ष समितिले मंगलबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
भदौ १६ गतेदेखि पैसा फिर्ता गर्न शुरु गर्ने लिखित सम्झौता गरेको बराह सहकारीका सञ्चालक र संघर्ष समितिबीचको वार्तामा भदौ १६ मा रकम वितरण गर्न नसक्ने बताएपछि उक्त दिन हुलहुज्जत तथा गाली गलौज नगर्न पिडितहरुलाई संघर्ष समितिले आग्रह गरेको छ । संघर्ष समितिको तर्फबाट उत्तः दिन गाली गलौज, हुलहुज्जत तथा तोडफोड भए त्यसको जिम्मेवार संघर्ष समिति नहुने समेत पत्रकार सम्मेलनमा प्रष्ट पारिएको छ ।
बराह पीडित संघर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै आइतबार (१२ गते) भएको वार्तामा भदौ १६ गते रकम वितरण गर्न नसक्ने कुरा बराह सञ्चालकहरुबाट आएको जानकारी दिएको छ ।
वार्ताको क्रममा सञ्चालकहरुले आफुहरु सुरक्षित हुने मनसायले संयुक्त विज्ञप्ती जारी गरौं भन्ने प्रस्ताव ल्याएको पनि संघर्ष समितिका कार्यवाहक अध्यक्ष श्याम प्रसाद ढकालले जानकारी दिए । साथै, सञ्चालकहरुले बचतकर्ताहरुको पैसा ७, ८ बर्षमा तिरिसक्ने पनि बताएको उनले बताए ।
सञ्चालकहरुले सबै जग्गा जमिन बैंकमा राखेर ऋण लिने प्रक्रियामा रहेको र एकै पटक सबै जग्गाजमिन फुकुवा गरिदिनु भन्ने दबाब दिएको तर रकम भुक्तानी गर्ने आधार नदेखिएकोले वार्ता तत्काललाई स्थगित गरिएको पनि संघर्ष समितिको तर्फबाट वार्ता टोलीका संयोजक शंकर थापाले जानकारी दिए ।
बराह सहकारी सञ्चालकहरुले यसअघि भदौ १६ गतेदेखि रकम वितरण गर्ने लिखित सम्झोता गरेको भएपनि केही दिन मात्र बाँकी रहदा पनि वितरण गर्ने अवस्था नदेखिएको वार्ता संयोजक थापाले बताए ।
त्यसैले उक्त दिन कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी स्वयम बराह सहकारीका सञ्चालकहरुले लिनुपर्ने पनि संघर्ष समितिले प्रष्ट पारेको छ ।
साथै, संघर्ष समितिले सहकारी ऐन २०७५ वमोजिम सहकारीलगायत सञ्चालकहरु, उनीहरुका परिवारसमेतको सम्पत्ति र लुकाईएको सम्पत्ति छानबिन गरी समस्याग्रस्त सहकारी घोषणा गर्न पनि माग गरेका छन् ।