ओखलढुंगाः नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी ओखलढुंगाले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धन दलले बेवास्ता गरेर अगाडि बढेमा संघ र प्रदेशमा एक्लै लड्ने बताएको छ । 

आगामी निर्वाचनका लागि गठबन्धनमा केन्द्रीय तहमै जिल्लाको उम्मेदवार रहनेगरी सहमतिको प्रयास भइरहेको बताउँदै नेकपा एस ओखलढुंगाले गठबन्धन दलहरुबाट जिल्लामा बेवास्ता गरिएमा दुवै तहको निर्वाचनमा एकल प्रतिस्पर्धा गर्न पार्टी तयार रहेको बताएको हो । 

पार्टी पुनर्गठनको शुभकामना दिँदै पार्टीका जिल्ला अध्यक्ष नेत्रप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा जिल्लामा ४२ वडामा वडा कमिटी र पाँच स्थानीय तहमा पालिका कमिटी क्रियाशील रहेको बताउँदै जिल्ला कमाण्डको निर्णयबाट प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गरेको बताइएको छ । 

प्रदेशसभाको लागि ओखलढुंगा (क )बाट राजन खत्री, सञ्जीव गुरुङ ओखलढुंगा (ख) का लागि कमल खड्का, यमचन्द्र कट्वाल र पूर्णकुमारी सुवेदी सिफारिस भएका छन् भने प्रदेश (क) को लागि समानुपातिकतर्फ तिलक लोहनी, शारदा निरौला र अम्बिकाप्रसाद भट्टराई सिफारिसमा परेका छन् । 

यस्तै प्रतिनिधिसभाको लागि ओखलढुंगाले प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष नेत्रप्रसाद भट्टराई, छत्रबहादुर कार्की र मेखबहादुर राउतको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ निर्मला श्रेष्ठको नाम परेको छ ।