काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का केन्द्रीय सदस्य तथा प्रदेश कमिटी उपसचिव तारा लामा तामाङलाई कारबाही गरेको छ ।

पार्टीको अनुशासन र मर्यादाबाहिर गएर पार्टीको वैधानिक व्यवस्थाविरुद्ध संसद् बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको बताइएको छ ।

पार्टीका सुदूरपश्चिम अध्यक्ष हर्कबहादुर सिंहले एक विज्ञप्ति जारी गर्दै तामाङलाई कारबाही गरिएको जाकारी दिएका छन् ।

प्रदेश अध्यक्ष सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव तारा लामा तामाङ विगत केही समय अगाडिदेखि पार्टीको वैधानिक व्यवस्था उलङ्घन गरी पार्टी विरुद्धका गतिविधिमा संलग्न रहँदै आउनुभएको र आफ्नो पदीय जिम्मेवारीविपरीत मिति २०७९÷०५÷१३ गते का दिन सुदूरपश्चिम प्रदेशसभा बैठकमा विशेष समय लिएर अव उप्रान्त नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )मा नरही निर्वाचित भएको पार्टी नेकपा  ( एमाले ) को सदस्यको हैसियतले प्रस्तुत रहने भनी संसद बैठक र सार्वजनिक रुपमा बोल्नु भएकाले नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) को पार्टी विधानको धारा ६४–१, २, ४,६,र ६४–ख–८को प्रावधानबमोजिम सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव पदमा नरहने गरी कारबाही गरिएको छ । साथै तामाङ लाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाहीको लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ । केन्द्रीय कमिटी सदस्यको हकमा केन्द्रलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी सम्पूर्ण जिम्मेवारीबाट हटाउन सिफारिस गरिन्छ । साथै निजलाई सुदूरपश्चिम प्रदेशसभा सदस्यको पदबाट आवश्यक कारबाही गर्न प्रदेशसभा संसदीय दललाई निर्देशन गरिन्छ ।’