इटहरीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा जिल्लामा स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दिने घोषणा गरेपछि ओलीले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम बढाएका छन् ।
भर्खरै मात्र तीन दिनको जिल्ला केन्द्रित भ्रमण सकेर राजधानी फर्किएका ओलीले पुनः आजबाट ३ दिने जिल्ला भ्रमण सुरु गरेका छन् । बिहीबार दिउँसो ओलीको गृह जिल्ला झापामा आउने कार्यक्रम तय भएको छ ।
अपराहन्न ३ः०० बजे भद्रपुर विमानस्थल हुँदै अध्यक्ष ओली झापा आउने कार्यतालिका रहेको पूर्वप्रधानमन्त्री ओलीनिकट स्रोतले बताएको छ । झापा क्षेत्र नम्बर ५ बाट कलाकार कुमार कट्टेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको भोलिपल्टै ओलीको गृह जिल्ला आउने कार्यक्रम तय भएको हो । ओलीले आजै साँझ आफ्नो निर्वाचन क्षेत्र झापा ५ का बुद्धिजीवी तथा शिक्षकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
यसैगरी, विपक्षी पार्र्टीमा रहेका विभिन्न समूहहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम पनि रहेको बताइएको छ । खासगरी कार्यकर्ता र मतदाताहरूसँग व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिइने पनि सचिवालयले जनाएको छ । अध्यक्ष ओली साँझ दमकस्थित निजी निवासमा बस्ने छन् भने भोलि शुक्रबार मोरङको सुन्दरहरैँचामा आयोजना हुन लागेको नेपाल जेसिसको एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट र परामर्शमा ओलीले अधिकांश समय बिताउने बताइएको छ ।