इटहरी/ सुनसरीको दुहबी– ८ को राधाकृष्ण मन्दिरको १४ कट्ठा १ धुर जग्गा कौडीको भाउमा बेच्दा मन्त्रालयको आदेशलाई अटेर गरिएको देखिएको छ । साबिक सोनापुर–२ मा रहेको १३ नम्बर कित्ताको राजमार्ग नजिकैको राधाकृष्ण मन्दिरको जग्गा बिक्री गर्न कानुनी छिद्र प्रयोग गरेको देखिएको छ ।
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कुनै पनि मन्दिर, गुठी आदिको सार्वजनिक जग्गा व्यक्तिलाई बेचबिखन नगर्न पठाएको परिपत्र मिच्दै मन्दिर व्यवस्थापन समिति र माफियाले किनबेच गरेका हुन् ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सुरक्षा समन्वय महाशाखाले २०७४ चैत ८ गते त्यस्ता जग्गा नबेच्न सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो । तर, जिल्ला प्रशासनलाई मात्रै परिपत्र जारी गरिएको आधार टेक्दै उच्च अदालत विराटनगरले माफियालाई सहयोग पुग्नेगरी मालपोत कार्यालयलाई जानकारी गराएको देखिन्छ ।
२०७५ जेठ २९ गते जारी गरेको उच्च अदालतको सूचनामा भनिएको छ ‘परिपत्र जिल्ला प्रशासन कार्यालयको नाममा जारी गरिएको देखिन्छ । मालपोत कार्यालयको नाममा जारी गरिएको देखिँदैन ।’ यसो भन्दै अदालतले पनि मन्दिरको जग्गा किनबेच गर्नमा सहयोग पु¥याएको देखिएको छ ।
मन्दिरको जग्गा माफियासँग मिलेर प्लटिङवालालाई बिक्री गर्न असहज हुन्छ भनेर बिक्री गर्नै लाग्दा सेटिङमा मुद्दा दायर गरेको देखिन्छ । मुद्दा दायर गरेर बेच्न सहज होस् भनेर मालपोतलाई मन्त्रालयले परिपत्र नगरेको कानुनी छिद्र देखाएर जग्गा बेचबिखन गरिएको पाइएको छ ।
वारिसबाट प्लटिङवालालाई जग्गा बिक्री
यसरी सेटिङमा बेचिएको १४ कट्ठा १ धुर जग्गा बजारमा चलेको कट्ठाको १५ लाख रुपैयाँ र चल्तीको भाउ ८ लाख रुपैयाँ कट्ठाको सरकारी रेटभन्दा सस्तो बेचियो । यसरी जग्गा बेच्न दुहबी–८ कै बिचौलिया ओमकुमार थापालाई वारेस बनाएको देखिएको छ । मन्दिर व्यवस्थापन समितिले २०७४ साल चैत ४ गते वारेस दिएको देखिएको छ ।
धर्मशाला बनाउने नाममा बेचियो जग्गा
दुहबीको श्री राधाकृष्ण मन्दिर धनी मन्दिर मानिन्छ । हरेक वर्ष विवाहको सिजनमा विवाह र अन्य विभिन्न धार्मिक अनुष्ठानबाट मन्दिरले राम्रो आर्थिक संकलन गर्छ । मन्दिरको सजिसजावटले पनि त्यो कुराको पुष्टि गर्छ ।
यो मन्दिरको नाममा धेरै बिघा जग्गा रहेको छ । सोही जग्गा व्यवस्थापन समितिका अध्यक्ष हिमालय मानन्धर, सचिव रामप्रसाद राई र प्लटिङ व्यवसायी गोविन्दकुमार बजगाईंको मिलेमतोमा खरिदबिक्री भएको हो । मन्दिर व्यवस्थापन समितिको बैठक २०७५ साल बैशाख ४ गते बोलाइयो र धर्मशाला निर्माणको नाममा मन्दिरको १४ कट्ठा १ धुर जग्गा बेचियो ।
चलनचल्तीको प्रतिकट्ठा १५ लाखका दरले हिसाब गर्दा २ करोड १० लाख मूल्य पर्ने जग्गा ५४ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा स्थानीय प्लटिङ कारोबारी बजगाईंलाई बेचिएको छ । चलनचल्तीको भाउभन्दा १ करोड ५६ लाख हाराहारी कम मूल्यमा बिक्री गरेर बाँकी रकम चलखेल गरिएको स्थानीयले बताएका छन् ।