काबुलृः कुनै समय अमेरिकी सेनाबाट तालिम पाएर तालिवान लडाकुविरुद्ध अफगानिस्तानको आकासमा लडाकु विमान उडाउने गरेका पाइलट मोहम्मद इद्रिस मोम्यान्ड अहिले त्यही तालिवान सरकारलाई सघाउन पुगेका छन् । आफ्नो ब्ल्याक हक लडाकु हेलिकोप्टर चढेर उनी तालिवानसँग मिल्न पुगेका हुन् । उनले आफ्नो हेलिकोप्टर नै तालिवान लडाकुहरूलाई सुम्पेका छन् । 

अमेरिकाले पायलटको तालिम दिन छनोट गरिएका केही थौरै संख्याका अफगान नागरिकमा इद्रिस पनि परेका थिए । 

उनी भन्छन्, “केही मानिस मसँग खुसी नहुन सक्छन् । तर म उनीहरूलाई भन्छु, मुलुक भनेको आमाजस्तै हो । यसलाई कसैले धोका दिनहुँदैन ।“

गत वर्ष कट्टररपन्थि इस्लामिक लडाकुहरूले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि यसरी आफ्नो गठबन्धन त्यागेर तालिबान अर्थात् पूर्व शत्रुहरूसँग मिल्न आउने उनी अफगान सेनाको एक मात्र पाइलट हुन् ।

उनले आफ्नो लक्ष अफगानिस्तानको सम्पत्ति जोगाउनु रहेको बताएका छन् । सन् २००९ मा अफगान सेनामा प्रवेश गरेका उनी वेस्ट प्वाइन्ट नामक अमेरिकी सैनिक प्रतिष्ठानबाट चार वर्षीय पाइलट तालिमका लागि अमेरिका गएका थिए । अमेरिकामा सो लडाकु हेलिकोप्टर तालिम पूरा गर्नका लागि साठी लाख अमेरिकी डलर खर्च भएको आफूलाई बताइएको उनी सम्झन्छन् । -बीबीसीबाट