साउदी अरेबियाः साउदी सरकारी निकायले एउटा अनाथालयमा एक किशोरीलाई सुरक्षाकर्मीहरूले कुटपिट गरेको घटनामाथि छानबिन सुरु गरेको बताएको छ ।

यस घटनाको भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियो फुटेजमा सादा पोसाकमा रहेका प्रहरी र सरकारी अधिकारीहरूले खामिस मुसाइतस्थित सामाजिक शिक्षा गृहमा छापा मारिरहेको देखिन्छन् । भिडियोमा एकजना अधिकारीले चिच्याउँदै गरेकी एकजना किशोरीलाई कपालमा समाटेर घिसार्दै ल्याएको र एकजना प्रहरीले उनलाई पेटीले पिट्दै गरेको देखिन्छ ।

अरु किशोरीहरूलाई पनि लखेट्दै लट्ठीले पिटेको देखिन्छ । यस घटनाको समय र परिस्थितिबारे स्पष्ट रूपमा केही उल्लेख गरिएको छैन । तर, यस भिडियोलाई आफूले सम्पादन गरेको दाबी गर्ने एक महिलाले ती किशोरीहरूले अनाथालयमा आफ्ना हकहितका मागहरू अस्वीकृत भएपछि भ्रष्टाचार र अन्यायविरुद्ध हडताल गरिरहेको ट्विटरमार्फत जानकारी दिएकी छन् । -बीबीसीबाट