युक्रेनः संयुक्त राष्ट्रसंघका निरीक्षकहरू अहिले युरोपकै सबैभन्दा ठूलो आणविक केन्द्र मानिने युक्रेनको जापोरिझ्या आणविक उर्जा केन्द्रको अनुगमनमा छन् । 

रुसी फौजको नियन्त्रणमा रहेको यस स्थानमा आणविक दुर्घटना हुनसक्ने चेतावनी दिँदादिँदै पनि महिनौँदेखि यस क्षेमामा गोलाबारूद प्रहार हुँदै आएको छ । 

किभले रुसले पुनः यस क्षेत्र नजिक आक्रमण गर्न थालेको बताएपछि निरीक्षण टोली युक्रेनी रेखा पछाडिको चेकप्वाइन्टमा रोकिनु परेको थियो । युक्रेनको राष्ट्रिय आणविक सञ्चालकले आक्रमणको कारण सो आणविक केन्द्रका एउटा भट्टी बन्द गर्न बाध्य भएको बताएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय उर्जा निकायबाट आएको यस मिसनका प्रमुख राफाएल ग्रोस्सीले आफ्नो टोली ढिलै भएपनि साइट निरीक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

आणविक केन्द्र नजिकको सहर एनेरहोदारका मेयरले रुसले सो क्षेत्रमा गोलाबारूद प्रहार गरिरहेको र सर्वसाधारणहरू मारिएको आरोप लगाएका छन् । तर, रुसले बिहीबार बिहान सो केन्द्र कब्जा गर्न खोज्ने ६० जना युक्रेनी षड्यन्त्रकारी मारिएको बताएको छ । 

मस्को र किभ दुवैले सो क्षेत्रमा भएको गोलाबारी जिम्मेवारी लिन अस्वीकार गरेका छन् । 

त्यहाँ रहेका छ वटा भट्टी चिसो राख्नका लागि निरन्तर विद्युत् आपूर्तिको जरुरी हुन्छ । विगतमा त्यहाँ विद्युत आपूर्ति रोकिँदा तत्काल जेनेरेटर सञ्चालन नगरेको भए दुर्घटना भइसक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए । 

ग्रोस्सीले त्यहाँ पर्याप्त मात्रामा विद्युत् आपूर्ति होस् भन्ने र बन्दुकको नाल तेर्साइएको अवस्थामा कार्यरत भनिएका त्यहाँका कर्मचारीहरूसँग खुलस्त कुरा गर्न चाहेको बताएका छन् । -बीबीसीबाट