ब्युनसआयर्सृः अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डी किर्चनर हत्या प्रयासबाट बचेकी छन् । उनलाई ताकेको आक्रमणकारीको बन्दुक जाम भएकाले उनी बचेकी हुन् । भिडियो फुटेजमा आफ्ना समर्थकहरूको भिडले घेरिएकी उनले गोली भरिएको बन्दुकसँग साक्षात्कार गरिरहेको देखिन्छ । 

पूर्वराष्ट्रपति किर्चनर अदालतबाट घर फर्किँदै गर्दा यो घटना भएको हो । उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको छ । तर उनले ती आरोप अस्वीकार गर्दै आएकी छन् । प्रहरीले ती बन्दुकधारीलाई हिरासतमा लिएको छ । स्थानीय सञ्चार माध्यमले उनी ३५ वर्षीय ब्राजिलियन पुरुष भएको जनाएको छ ।

किर्चनर सन् २००७ देखि २०१५ समम अर्जेन्टिनाका राष्ट्रपति रहेकी थिइन् । त्यसअघि उनले चार वर्षसम्म प्रथम महिलाको भूमिका निभाएकी थिइन् । 

राष्ट्रपति अल्बर्टो फर्नान्डनेजले बन्दुकमा पाँचवटा गोली भरिएको तर ट्रिगर दबाउँदा गोली नपड्केको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा किर्चनर अघि बढ्दा भिडबीचबाटै बन्दुक निस्केको देखिन्छ । त्यस भिडियोमा के भइरहेको छ भन्ने थाहा नपाएर अलमलिएकी उनले झुकेर भुँइमा खसेको केही चिज टिपेको जस्तो पनि देखिन्छ । अर्को भिडियोमा उनको केही इन्चमात्र टाढा रहेका आक्रमणकारीबाट भिडले उनलाई जोगाउन खोजेको देखिन्छ । 

उनको समर्थनमा उनका घर बाहिर भिड जम्मा भएको थियो । -बीबीसीबाट