वासिङ्गटनः अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूको ’मेक अमेरिका ग्रेट अगेन’ (मागा) एजेन्डा प्रजातन्त्रका लागि खतरा भएको बताएका छन् । पेन्निसिल्भानियामा एउटा प्राइमटाइममा भाषण दिने क्रममा बाइडेनले मागा फौज अमेरिकालाई पछिल्तिर धकेल्न लागेको प्रतिक्रिया दिएका छन् । 

यता वरिष्ठ रिपब्लिकन केभिन म्याकार्थीले भने आफ्नो भाषणमा बाइडेनले अमेरिकाको आत्मालाई गहिरो चोट पु¥याएको बताएका छन् । मद्यावधि चुनाव हुनु दुईमहिना अघि यसरी भाषणबाट नेताहरूबीच दोहोरी चलेको हो । यो चुनावले वासिङ्टनमा शक्ति सन्तुलनको निर्णय गर्नेछ ।

डेमोक्रेटिक राष्ट्रपतिले बिहीबार राति फिलाडेल्फियाको इन्डिपेन्डेन्स हलबाट सो भाषण दिएका थिए । यसै हलमा विगतमा अमेरिकाको स्वाधिनता घोषणापत्रमा हस्ताक्षर भएको थियो । उनले सन् २०२० को आफ्नो ’सौल अफ अमेरिका’ (अमेरिकाको आत्मा) विषयक अभियान चलाएका थिए । 

बाइडेनले भनेका छन्, “मैले दुई वर्ष अघि ट्रम्पलाई मतदान गर्ने ७ करोड ४० लाख अमेरिकीको आलोचना गरिरहेको हैन । सबै रिपब्लिकन अथवा अत्यधिक रिपब्लिकन पनि मागा रिपब्लिकन हैनन् । तर पक्कै पनि आज रिपब्लिकन पार्टी डोनाल्ड ट्रम्प र मागा रिपब्लिकनहरूबाट हेपिएका, लखेटिएका र बिथोलिएका छन् । र, यो मुलुकका लागि खतरा हो ।“ -बीबीसीबाट