इस्लामाबादः पाकिस्तानमा बाढीबाट प्रभावित ४७ हजारभन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन् ।

स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्याङ्क सार्वजनिक गरेका छन् । सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी हुन् । उनले बाढी पहिरोपछि लाखौँ मानिस विभिन्न रोगबाट ग्रसित भएको बताएकी छन् । सो प्रान्तमा  १ लाख ३४ हजारभन्दा बढी झाडापखाला र ४४ हजार मलेरियाका घटनाहरू रिपोर्ट गरिएको छ । गत अगस्ट ३० मा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, यौन तथा प्रजनन स्वास्थ्य निकायले बाढी प्रभावित क्षेत्रमा कम्तिमा ६ लाख ५० हजार गर्भवती महिलाहरू रहेका र जसमध्ये ७३ हजार जना यसै महिनामा सुत्केरी हुन लागेका उल्लेख गरेको छ ।

बाढीपीडितहरूमध्ये हालसम्म एक लाखभन्दा बढी चर्मरोगबाट पीडित छन् । यस्तै, १०० भन्दा बढी सर्पदंश र ५०० भन्दा बढी कुकुरको टोकाइबाट पीडित भएका डन अखबारले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघ एजेन्सीले महिलाहरू लैङ्गिक हिंसाको बढ्दो जोखिममा रहन सक्ने चेतावनी जारी गरेको छ । किनकि, बाढीबाट करिब १० लाख घरहरू क्षतिग्रस्त भएका छन् र विस्थापित परिवार सुरक्षित आश्रयस्थलको खोजीमा छन् ।

पाकिस्तानले यस वर्ष विनाशक बाढीको सामना गरेको छ, जसले देशका करिब तीन करोड तीस लाख मानिसहरूलाई असर गरेको छ भने दशौं हजार मानिसहरूलाई विस्थापित गरेको छ । स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको प्रतिवेदनअनुसार विगत दुई महिनामा सिन्धबाट १ लाख ३४ हजारभन्दा बढी झाडापखालाका घटनाहरू रिपोर्ट गरिएका छन् । त्यस्तै, यस वर्षको जुनदेखि हालसम्म ४४ हजार ८३२ औलोका बिरामी फेला परेका तथ्याङ्कले देखाएको छ । -रासस/एएनआई