विराटनगरः कोसी नदीले कटान गरेको पश्चिम तटबन्ध निर्माण भएको छ ।

साउन १८ गते बिहान कोसी धार परिवर्तन गरी उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रे भन्ने ठाउँबाट पश्चिमतर्फ पसेको थियो । बाढी बस्तीमा पस्दा उदयपुरका २० हजारभन्दा बढी नागरिक प्रभावित बनेका थिए । संघीय सरकारले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको थियो । कोसीको बहाव नियन्त्रण गर्ने उद्देश्यसाथ संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको पहलमा पश्चिमतर्फ बाँध बाध्ने कार्य सम्पन्न भएको हो । बाँध क्षेत्रको सोमबार प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले निरीक्षण गरेका छन् । कार्कीले भने, “पश्चित तटबन्ध निर्माण भएसँगै कोसी साविककै धारमा फर्किएको छ । यसबाट बस्तीमा फेरि बाढी पस्ने खतरा टरेको छ ।”

तत्काललाई तटबन्ध मर्मत गरी पहिलेकै अवस्थामा ल्याइएकोले अब जोखिम केही भए पनि घटेको मन्त्री कार्कीले बताए । उदयपुरको बेलका नगरपालिका क्षेत्रमा बाढी पस्दा बढी प्रभावित बनेको थियो । भाटेपुललगायत क्षेत्रका स्थानीयलाई प्रदेश सरकारको पहलमा सुरक्षित स्थानमा सारिएको थियो । बेलका नगरपालिकाका मेयर अशोक कार्कीले तटबन्धन मर्मत र निर्माणसँगै कोसीको बहाव पूर्वतर्फ फर्ककिएको भए पनि आफूहरु सतर्क अवस्थामा भने रहेको सुनाए ।