बेइजिङः दक्षिण पश्चिमी चीनमा आएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । 

स्थानीय समयअनुसार सोमबार अपराह्न १ बजे सिचुआन प्रान्तमा जमिनको सतहदेखि १० किलोमिटर मुनि केन्द्रविन्दु बनाउँदै भूकम्प आएको हो । 

स्थानीय सञ्चार माध्यमले भूकम्पको कारण टेलिकम सेवा अवरुद्ध हुनुका साथै पहाडमा पहिरो गएकाले गम्भीर क्षति पुगेको बताएका छन् ।  

करिब २ करोड १० लाख जनसंख्या रहेको सिचुआनको राजधानी चेंगदुका बासिन्दालाई यसअघि कोभिड नियमअनुसार घरमै बस्न आदेश दिइएको थियो । 

चिनियाँ भूकम्प सञ्जाल केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चेंगदुदेखि करिब २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने विकट पहाडी क्षेत्रमा पर्ने लुडिंग सहर रहेको बताइएको छ । 

सीसीटीभीका अनुसार भूकम्पको कारण चेंगदु र नजिकको विशाल सहर चोंगक्विंगका भवनहरू बेस्सरी हल्लिएका थिए । सडक अवरुद्ध भएको थियो । १० हजार भन्दा बढी स्थानीय बासिन्दाको दुरसञ्चार सम्पर्क विच्छेद हुनपुगेको थियो । 

पाँच सयजना भन्दा बढी उद्धारकर्मीलाई भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । -बीबीसीबाट