नाइजेरियाः नाइजेरियाको व्यावसायिक क्षेत्र लागोसमा एउटा निर्माणाधीन भवन ढल्दा पाँचजनाको मृत्यु भएको छ । 

लागोस राज्यको राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकायका कार्यालय संयोजक इब्राहिम फरिनलोएले आफूहरूले  जटिल परिस्थितिमा काम गरिरहेको जानकारी दिएका छन् । 

भग्नावशेषमा अझै पनि मानिसहरू पुरिएको हुनुपर्ने विश्वासमा उद्धार कार्यलाई जारी राखिएको छ । दुर्घटनाको समय त्यस भवनमा कतिजना मानिस थिए भन्ने यकिन हुन सकेको छैन । 

इब्राहिमले केही प्रत्यक्षदर्शीले ३० जना भन्दा बढी व्यक्तिले ज्यान जोगाउन भवनबाट हामफालेको देखेको दाबी गरेको तथा अहिलेसम्म कसैको जीवित उद्धार हुन नसकेको बताएका छन् । 

लागोस राज्य सरकारले करिब एक वर्षअघि नै सो भवनमा सिल लगाएकाले निर्माण कार्य रोक्नुपर्ने बताइएको छ । 

लागोस राज्य गभर्नर बावाजिदे सान्वो–ओलुले हाल फरार रहेको यस भवनका निर्माणकर्तालाई पक्राउ गर्न आदेश दिएका छन् । यस घटनालाई लिएर लागोस राज्य योजनाका प्रमुख अधिकारी इद्रिस सालाकोले पदबाट राजीनामा दिएका छन् । -बीबीसीबाट