धरानः भूमिहिन आयोगद्वारा धनीपुर्जा वितरण गर्न कम्तिमा दुई महिनाको समय लाग्ने भूमि आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वेले बताएका छन् ।
मंगलबार जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष खत्वेले सुनसरी जिल्लामा धरान र बराहक्षेत्रमा सुरु गरिएको बताए । धरानमा नगरपालिकाले सम्पूर्ण तथ्याङ्क लगाइसकेको बताए । अब वडाबाट सम्पूर्ण काम भए निस्सा वितरण गरिने खत्वेले जानकारी दिए ।
आयोगले एक घरपरिवारलाई कम्तिमा पौने सात धुर जग्गा दिने तयारी गरेको उनले बताए । उनले लालपुर्जा पाएको दश वर्षसम्म बेचबिखन गर्न नपाउने व्यावस्था रहेको बताए । धनीपुर्जा प्राप्त गर्दा नेपाल सरकारलाई सरकारी मूल्यको पाँचदेखि सय प्रतिशतसम्म राजश्व बुझाउनुपर्ने प्रावधान रहेको अध्यक्ष खत्वेले बताए ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक राईको विशेष उपस्थितिमा भएको अन्तरक्रियामा अध्यक्ष राईले राजश्व सकेसम्म पाँच प्रतिशत बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । धनीपुर्जाको विषयमा अध्यक्ष राईले विशेष चासो दिएका थिए ।
जनता समाजवादी पार्टी सुकुम्बासी समिति अध्यक्ष केशव कालिकोटेले धरान उपमहानगरभित्र धनीपुर्जा वितरणमा ढिलाइ हुनुमा वडा समिति कारक रहेको बताए । नगरपालिकाको तथ्यांङ्क सबै चढाइसकेको र वडाबाट थप प्रकृया सुरु हुने बताए । उनले धरान वडा नम्बर ५ को सेउती खोलाको किनारामा बस्नेले धनीपुर्जा नपाउने बताए ।े त्यसको विकल्पमा वडा अन्यत्र सट्टा भर्ना गरिने उनले बताए ।