विराटनगरः मोरङ व्यापार संघले भारतको बथनाहा–विराटनगर रेल्वे सञ्चालन गर्ने विषयमा भारतीय अधिकारीहरुलाई सुझाव दिएको छ ।
बिहारको जोगबनी आएका बेला कटिहार रेल्वे विभागका विभागीय रेल्वे प्रबन्धक (डिभिजनल रेल्वे मेनेजर) कर्नल एसके चौधरीलाई भेट गरी संघले रेल्वे सहजीकरणबारे विविध सुझाव दिएका हो ।
संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले कटिहार–जोगबनी ब्रोड गेज रेल्वे रुपान्तरण, जोगबनी रेल्वे यार्ड निर्माणसहित कटिहार, बथनाहा, जोगबनी र विराटनगरका आईसीपी लगायतका रेल्वे पूर्वाधारहरु निर्माणका लागि समेत नर्थ फ्रन्टाइर रेल्वे, कटिहार डिभिजनसँग नजिकबाट सहकार्य गर्दै आएको स्मरण गराएका थिए ।
रिजालले जोगबनी–विराटनगर सीमा क्षेत्रका नागरिक र व्यवसायीक समुदायलाई लक्षित गरी भारतीय रेल्वेलाई थप सुविधायुक्त बनाउन आग्रह गर्दै जीर्ण अवस्थामा रहेको जोगबनी रेल्वे स्टेशनको गुड्स यार्डको जिर्णोद्वार गरिनु पर्ने, उक्त रेल्वे गुड्स यार्डको कार्य समय बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्मका लागि कायम गरिनु पर्ने, कोलकाता बन्दरगाहदेखि जोगबनी रेल्वे स्टेसन र पछि आईसीपी, जोगबनीसम्मका लागि कन्टेनराइज्ड कार्गोलाई नियमित रुपमा सञ्चालन गर्न सुझाव दिएका छन् ।