जेरुसेलमः इजरायलको एक अदालतले रक्षामन्त्री बेन्नी गान्त्जका पूर्वहाउसकिपरलाई इरानसँग आबद्ध एउटा ह्याकिङ समूहलाई सूचना प्रवाह गर्ने गरेको अभियोगमा कारावास सजाय सुनाएको छ । 

३८ वर्षिया ओम्री गोरेनलाई तीनवर्ष लामो कैद सजाय सुनाइएको हो । उनले आफूमाथि जासुसी गरेको अभियोग नलगाइयोस् भनेर अपिल गरेका थिए । 

इजरायली न्याय मन्त्रालयका अनुसार गोरेनले पैसाका लागि आफूले ब्ल्याक स्याडो ह्याकर्सलाई गान्त्जकाबारे सूचना पठाउने र उनको कम्प्युटरमा माल्वेयर राख्ने गरेको स्वीकारेका छन् । तर, उनले जानीजानी इजरायलको शत्रु राष्ट्र इरानका लागि जासुसी नगरेको बताएका छन् । 

टाइम्स अफ इजरायलले उनका वकिलहरूको भनाई उद्धृत गर्दै भनेको छ, “गोरेन जासुस होइन । र, यो जासुसी कान्ड हुन सक्तैन । यो ऋणमा फसेको एकजना मानिस र सुरक्षा नियम उल्लङ्घन गरिएको घटना हो ।” 

गोरेनले आफूले पैसा मात्र लिएर ह्याकरहरूलाई कुनै सूचना नदिइ छकाउने योजना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका छन् । न्याय मन्त्रालयले सिन वेट सुरक्षा सेवाले गोरेनको काम असफल पारेको जनाएको छ । -बीबीसीबाट