इटहरीः इटहरी उपमहानगरपालिकाले सहकारी सँस्थाहरुमा एकपछि अर्को गरी समस्या आउन थालेपछि सहकारीसम्बन्धी स्थानीय ऐनमा कडाइ गर्न तत्परता देखाएको छ ।
उपमहानगरपालिकाको १ सय २२ औँ कार्यपालिका बैठकमा नगरप्रमुख हेमकर्ण पौडेलले नगरपालिकाको सहकारी ऐनमा संशोधन गर्नुपर्ने र नागरिकको निक्षेपको सुरक्षा गर्नुपर्ने भन्दै समिति गठनको प्रस्ताव राखेका थिए ।
सहकारी सँस्थालाई व्यवस्थित गर्न इटहरी उपमहानगरपालिकाले सहकारी ऐनलाई संशोधन गर्न नगरप्रमुख संयोजक, उपप्रमुख सह संयोजक, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत साथै कार्यपालिकाले तोकेका २ जना कार्यपालिका सदस्यमा भिमा राई र रतन कार्कीको नाम पारित भएको छ । त्यसैगरी, संयोजकले मनोनित गरेका सहकारीसम्बन्धी अनुभव सङ्गालेका नगरक्षेत्रका ३ जना रहने बताइएको छ । नगरप्रमुख पौडेलले गंगा दाहाल, बिमला श्रेष्ठ र भोला बस्नेतको नाम प्रस्ताव गरेका छन् भने उक्त नाम कार्यपालिकाले पारित गरेको छ ।
सहकारीको आर्थिक अनुशासन नभएको र निक्षेपमा तलमाथि गर्नेलाई कारबाही गर्नु उक्त ऐनलाई संशोधन गर्नुपर्ने मेयर हेमकर्ण पौडेलले बताए ।
आर्थिक अनुशासन राम्रो नभएका सहकारीलाई कठाइ गर्न र सर्वसाधारणको निक्षेपको सुरक्ष ा गर्न यो ऐनको संशोधन गर्नुपर्ने आवश्यकता रहेको पौडेलले औँल्याएका थिए ।
आफू निर्वाचित भइसकेपछि पनि २ वटा सहकारीमा समस्या आएर कारबाहीको प्रक्रियामा रहेको बताउँदै मेयर पौडेलले इटहरी उपमहानगरभित्र रहेका सहकारीको दर्ता , नियमन र निरीक्षणका लागि उक्त समिति गठन गरिएको बताए ।