इटहरीः उद्योग बाणिज्य संघ इटहरीले निर्वाचन ताका घोषणा गरेको थुप्रै प्रतिवद्धता मध्ये एउटा प्रतिवद्धता आज पुरा गरेको छ । आज वाणिज्य संघ इटहरीले एक कार्यक्रमको आयोजना गरि इटहरी उपमहानगरपालिकालाई ‘पोर्टेबल’ सार्वजनिक शौचालय हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै संघले इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेललाई ‘पोर्टेबल’ सार्वजनिक शौचालय हस्तान्तरण गरेको हो ।
उद्योग वाणिज्य संघ इटहरीले ८ थान पोर्टेबल शौचालय र मोबाईल शौचालय २ थान उपमहानगरलाई हस्तान्तरण गरेको वाणिज्य संघ इटहरीले जनाएको छ ।
सार्वजनिक शौचालय बुझ्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नीजी क्षेत्रको सहभागिता बिना विकास असम्भव रहेको बताए । उपमहानगरले पनि केहीदिनअघि सार्वजनिक शौचालयको शिलान्यास गरेको बताए । उनले भने, ‘अति आवश्यकीय सेवा उपलब्ध गराउन नसकिरेहको बेला यो शौचालयले सेवा प्रदान गर्न मद्त पुग्नेछ ।’
आफूले एकसय दिनमा उत्तेजित भएर लोकप्रियताका निम्ति काम नगर्ने नभई जनताका समस्यालाई मुक्त गराउन दीर्घकालीन काम गर्ने तर्क गरे । अब बोल्ने दिन होइन, बोलेका कुरा पूरा गर्ने दिन आएको छ, उनले भने, पाँच वर्षमा जनताका आधारभूत आवश्यकता पूरा गर्नका निम्ति मेरो नेतृत्वको सरकार प्रतिवद्व छ ।
उनले उवासंघले दिएको ‘पोर्टेबल’ सार्वजनिक शौचालय जहाँ आवश्यकता त्यहीँ प्रयोग गरिने बताए । यसअघि कोभिड कार्यकालमा उवासंघले गरेको कामको समेत मेयर पौडेलले प्रशंसा समेत गरे ।
कार्यक्रममा प्रदेश १ का सांसद लीलम बस्नेतले इटहरी उवासंघले स्थानीय सरकारसँग सहकार्य गरी अगाडि बढिरहेको तर्क गरे । उनले इटहरीमा सौर्य बत्तीदेखि सीसी क्यामेरा जडानका कुरासम्म नीजी क्षेत्रले लगानी गर्नु सकारात्मक पक्ष रहेको बताए ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उक्त सार्वजनिक शौचालयको प्रयोग र परिचालन सही ढंगबाट हुनुपर्ने बताए ।
उद्योग बाणिज्य संघको पूर्व केन्द्रीय सदस्य टंक दुलालले स्थानीय ठाउँको विकासमा निजी क्षेत्रको साथ चाहिने बताउँदै उक्त ‘पोर्टेबल’ सार्वजनिक शौचालयको सही ढंगबाट प्रयोग हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बा, नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी लगायतले बोल्दै उवासंघले इटहरीको विकासमा साथ दिएको भन्दै प्रशंसा गरे ।
उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले यस क्षेत्रमा दुई वर्ष अघिदेखि सार्वजनिक शौचालय निर्माण गर्ने अवधारणा ल्याएको बताए । उनले भने, ‘इटहरी पूर्वकै व्यापारिक केन्द्र मात्रै नभएर यस क्षेत्रबाट सबै ठाउँमा आवतजावत गर्ने माध्यम भएकाले अति आवश्यकीय कुरा हामीले महसुस गरेका थियौँ ।’
यसअघि अघिल्लो पटकको इटहरी सरकारलाई पटकपटक अनुरोध गरेपनि वार्ता सफल नभएको उनले बताए । आफूहरू इटहरीको विकासमा चिन्तित रहेकाले सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाई छ ।
उवासंघ इटहरीका महासचिव पीताम्बर पोखरेलले उक्त ‘पोर्टेबल’ शौचालय पाँच थान हस्तान्तरण गरिएको बताए । उनका अनुसार करीब ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएको शौचालय इटहरीका विभिन्न ठाउँमा राख्न सकिनेछ ।कार्यक्रममा एमालेका नेता तथा प्रदेश १ का सांसद लिलम बस्नेत, माओवादी केन्द्रका युवा नेता मदन चुडाँल, राप्रपाका आकाश सुब्बा लगायत समेत सहभागीता थियो ।