धरानः धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ्गले झण्डै अढाई अर्ब रुपैयाँ खर्च भएको धरानको खानेपानी परियोजना के कारणले असफल भयो भनेर आईयूडीपीका परामर्शदाता र ठेकेदारलाई प्रश्न गरेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आइयूडीपी खानेपानी परियोजनाको परामर्शदाता र ठेकेदार पक्षलाई बोलाएर छलफल गर्ने क्रममा उक्त प्रश्न गरेका थिए ।
मेयर साम्पाङले शुक्रबार आईयूडीपीका परामर्शदाता इन्जिनियर अनिल नेपाल र ठेकेदार कम्पनी तियाञ्जेन तुदी जेभीका प्रतिनिधि निर्माण गौलीलाई बोलाएर आईयूडीपी परियोजनाको बारेमा जानकारी मागेका थिए । जानकारी लिने क्रममा मेयर साम्पाङ्गले परियोजना के कति कारणले असफल भएको हो भन्ने कुरा पनि जान्ने प्रयास गरेका थिए ।
खानेपानी परियोजना आईयूडीपी किन असफल भयो ? भनेर खानेपानीका अभियानकर्मीहरूले समेत प्रश्न गरेका थिए । उनीहरूले आईयूडीपीमा चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग पनि गरे । आईयूडीपीका परामर्शदाता इन्जिनियर अनिल नेपाल, ठेकेदार कम्पनी तियाञ्जेन तुदी जेभीका प्रतिनिधि र खानेपानी बोर्डका निर्देशक राजु पोखरेललाई आईयूडीपीमा चरम भ्रष्टाचार भएको पाइए व्यहोर्नसमेत तयार रहेको बताएका थिए ।
धराने जनताले आईयूडीपीको ऋण नतिर्ने बताउँदै आक्रोशित अभियानकर्मीहरूलाई मेयर साम्पाङले सम्झाउँदै विगतको नेतृत्वले गरेको कामहरूको जिम्मेवारी अहिले नेतृत्वमा आफू भएकोले लिने भन्दै खर्चको छानबिन गर्ने बताएका छन् ।
पानी उत्पादन भनेअनुसार नै भएको भए पनि ट्याङ्कीसम्म पानी आइनपुग्नु पाइपको समस्या भएको बताइएको छ । पाइपको इन्टरकनेक्सन हुन नसकेकोले पानी नआएको प्राविधिक पक्षको विश्लेषण छ ।
धरानको खानेपानीमा एकीकृत शहरी विकास आयोजना (आईयूडीपी)मा कुल २ अर्ब १६ करोड १८ लाख ३९ हजार १६३ रुपैयाँ खर्च भएको जानकारी दिइएको छ । त्यसमध्ये खानेपानी आयोजनाका ठेकेदारलाई १ अर्ब ७४ करोड ७९ लाख ९२ हजार २४२ रुपैयाँ भुक्तान भएको छ ।
परामर्शदाता खर्चमा १३ करोड १ लाख ६ हजार खर्च भएको छ भने मूल्य समायोजन गर्दा ठेकेदार कम्पनीलाई थप १० करोड ६ लाख भुक्तान भएको धरान उपमहानगरपालिकाको लेखा शाखाले जनाएको छ ।
सामुदायिक विकासको काममा २ करोड ९९ लाख ८ हजार ८ सय ५ रुपैयाँ र आदिवासी विकास आयोजनामा १ करोड ९६ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ ।