इटहरीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयले पुनर्विचारको रायसहित प्रतिनिधिसभामा फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै भएको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले हाल प्रमाणीकरणका लागि पठाइएको विधेयकमा संशोधन प्रस्ताव ल्याउन उनले सरकारलाई आग्रह गरे । जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रयोजनका लागि अहिलेको विधेयक फिर्ता लिएर अर्को विधेयक पारित गर्न सकिने उनको जिकिर थियो ।
सरकारले चाहेमा तीन दिनभित्र त्यस्तो विधेयक पारित गर्न सकिने उनले उल्लेख गरे । नागरिकता विधेयकमा तनाव बढाउनु उचित नहुने उनको जिकिर थियो ।