धरानः जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष अशोक राईले आफूले उम्मेदवारी घोषणा नगरेको बताएका छन् । अध्यक्ष राईले मिडियामा उम्मेदवारीको कुरा आएको भन्दै पार्टीले भने उम्मेदवार हुने सिफारिस गरेको हुनुपर्ने उल्लेख गरे ।
अध्यक्ष राईले धरानमा भएको संघ र प्रदेश निर्वाचनबारे अभिमुखिकरण कार्यक्रममा यस्तो कुरा बताएका हुन् । उनले अघिल्लो चुनावमा आफू यस क्षेत्रमा उम्मेदवार भएको भन्दै मतदाताले २२ हजार १ सय २३ मत दिएको बताए । नेपाली काङ्ग्रेससँगको गठबन्धनमा तत्काल उम्मेदवार भएको उनले बताए ।
त्यसको पाँच वर्षपछि चुनाव भइरहेको भन्दै यो राजनीतिक दलका लागि उत्सवजस्तै भएको उनले बताए । उनले सुनसरी १ को लागि उम्मेदवार भएको खण्डमा यहाँको क्षेत्रका लागि धेरै कुरा गर्ने बताए । तर अहिलेलाई सबै कुरा बताउनुभन्दा पनि सांकेतिक रुपमा केही कुरा सुनाउने उनले बताए ।
सुनसरी १ को लागि आफूले सडक, ढल लगायतको पहल गरेको उनको भनाइ थियो । उनले धरानका मेयर तथा उपमेयर सहितको प्रतिनिधिमण्डल आएको समयमा जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री भएका भौतिक योजना तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले धरान विष्णुपादुकाको सडक कालोपत्रे गर्न ३३ करोड बजेट दिने भएको बताए । त्यसैगरी जनता समाजवादीकै भागमा परेको वन मन्त्रीबाट हाल धरानमा बन्दै गरेको ट्र्राफिक कार्यालय निर्माणस्थलमा वन उल्लेख हुँदा बाधा भएको भन्दै त्यसलाई समाधान गर्ने काम गरेको बताए । त्यसैगरी कोसी राजमागअन्तर्गत तरहरा धरान सडकखण्डको काम सुस्त र खतरा भएको कुरालाई विचार गरी तत्काल चाँडो काम थाल्न विभागलाई निर्देशन दिन लगाएको बताए । उनले त्यसको प्रभावकै कारण अहिले जंगलको बाटोमा काम भइरहेको बताए । सो खण्ड दसैँअगाडि सक्न विभागलाई मन्त्री इस्तियाकले निर्देशन दिएको पनि नेता राईले बताए ।
त्यसैगरी मेयर हर्क साम्पाङले खानेपानीको मुद्दा लिएर नै चुनाव जितेको पनि उनले बताए । धरानको दीर्घकालीन खानेपानीको लागि धरान उपमहानगरको बजेटले मात्र समाधान गर्न नसक्ने उनको जिकिर थियो । जसका लागि पनि आफूले पहल गरेको उनले बताए । स्वास्थ्य मन्त्री जयराम यादवले एमालेकै कारण प्रदेशको नाम राख्न नसकिएको बताए । तत्कालीन अवस्थामा एमाले र माओवादीको एकीकरण भई नेकपा हुँदा ६२ जना सांसद बढी रहेको तर अहिले राजेन्द्र राईको कार्यकाल गठबन्धन दुईतिहाई नपुग्ने भएकै कारण पहिचान सहितको प्रदेश नाम राख्न नसकिएको बताए ।