इटहरीः सुन्दरहरैँचाका निवर्तमान मेयर शिवप्रसाद ढकालले वर्तमान स्थानीय सरकारको कार्यशैलीप्रति कटाक्ष गरेका छन् ।
१०० पूरा गरेको वर्तमान सरकारले जारी गरेको श्वेतपत्रमा कुनैपनि उल्लेखनीय काम देखाउन नसकी कर्मकाण्डका लागि मात्र श्वेतपत्र जारी गरेको ढकालको आरोप छ । ‘सुकुना बहुमुखी क्याम्पसमा एमफिल कक्षा सञ्चालन गर्ने, गछियामा शीतभण्डार निर्माण गर्ने, सिमसारलगायतका पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा केही बोलिएको छैन,’ ढकालले भने, ‘नगरवासीमा भ्रम छर्न सफल श्वेतपत्रले नगर नेतृत्व हाँसको चाल न बकुल्लाको चालको स्थितिमा रहेको छ ।’
नयाँ नेतृत्व निर्वाचित हुनासाथ आफूमाथि ३१ करोड रुपैयाँ बजेट अनियमितताको आरोप लगाइएकोमा सो आरोप श्वेतपत्रले पुष्टि गर्न नसकेको निवर्तमान मेयर ढकालको जिकिर छ । श्वेतपत्रको आलोचना र आफ्नो बचाउ गर्न आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका निवर्तमान मेयर ढकालले अहिले छाया मेयर धेरै भएका र नगर नेतृत्वलाई खबरदारी गर्ने काम प्रमुख प्रतिपक्षी दललगायतका कुनै पनि दलले नगरेकाले निवर्तमान नगरप्रमुखको नाताले आफू बोल्न बाध्य भएको उल्लेख गरे ।