इटहरीः धरान उपमहानगरपालिकाका २० वटै वडा कार्यालयले आफ्नो वडाका सम्पूर्ण जग्गालाई गैहकृषि क्षेत्र घोषणा गर्न माग गरेका छन् । 

नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनअनुरुप भूउपयोग नियमावली निर्माण गर्नको लागि स्थानीय तहको जग्गाको वर्गीकरण गर्नुपर्ने भएकाले उक्त वर्गीकरणमा आफ्नो वडाको सम्पूर्ण जग्गा गैह्रकृषिमा राख्न वडा कार्यालयले नगर कार्यपालिकामा पेस गरेका छन् । यसअघि उपमहानगरले सम्पूर्ण वडा कार्यालयहरुलाई कुन जग्गा कृषियोग्य, कुन जग्गा आवासीय र कुन जग्गा औद्योगिक क्षेत्रमा राख्ने भन्दै सिफारिसको लागि परिपत्र गरेको थियो । 

उपमहानगरले आइतबार एक सुचना जारी गर्दै वडा कार्यालयले गैह्रकृषि क्षेत्रमा वर्गीकरण गरिएका जग्गालाई कृषि क्षेत्र कायम गर्न चाहे नागरिकता र जग्गाधनीको पुर्जासहित वडा कार्यालयमा निवेदन दर्ता गराउन अनुरोध गरेको छ ।  स्थानीय तहहरुले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट र जग्गा बेचबिखन घटेको छ ।