न्युयोर्कः २१ वर्षअघि आजकै दिन अमेरिकास्थित विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवन, रक्षा मन्त्रालय (पेन्टागन) र पेन्सिलभेनियाको एउटा मैदानमा भएको आतंककारी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गरियो ।

पुष्पहार चढाएर तथा मैनबत्ती बालेर दिवंगतहरूमा श्रद्धा प्रकट पनि गरियो भने मौन धारण गरेर उनीहरूको चिरशान्तिको कामना गरिएको छ । देशका विभिन्न भागमा पनि दिवंगतहरूको सम्झनामा स्मृतिसभा गरिँदै छ ।

उक्त आक्रमणमा तीन हजारभन्दा बढीको असामयिक अवसान भएको थियो । २१ वर्षदेखि अमेरिकाले आतंकवादविरुद्ध अभियान नै सञ्चालन गरेको छ भने उसले राष्ट्रिय सुरक्षा नीतिमा व्यापक फेरबदल पनि गरेको छ । यद्यपि, लक्षित उद्देश्य हासिल नभएको सुरक्षा विज्ञहरूले बताएका छन् ।

आतंकवादी संगठन अलकायदासम्बद्ध १९ आतंककारीले चारवटा व्यावसायिक विमान अपहरण गरेर जुम्ल्याहा भवनमा आक्रमण गरेका थिए । -रासस\एपी