किभः युक्रेनी सेनाले पूर्वी युक्रेनमा प्रत्याक्रमण गरेर तीनहजार वर्ग किलोमिटर भूभाग फिर्ता लिन सफल भएको दाबी गरेको छ । यदि दाबी पुष्टि भएमा विगत ४८ घन्टाभित्र किभको फौजले तेब्बर भूभाग कब्जामा लिन सफल भएको देखिन्छ ।

बिहीबार साँझ युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले एकहजार वर्ग किमि भूमि कब्जा गरिएको जानकारी दिएका थिए । त्यसपछि शनिबार साँझ थप दुईहजार वर्ग किमि कब्जा भएको दाबी गरिएको थियो । 

तर, बीबीसीले युक्रेनी तथ्यांक पुष्टि गर्न सकेको छैन । पत्रकारहरूलाई युद्धको अग्रमोर्चामा जाने अनुमति दिइएको छैन । शनिबार पूर्वी युक्रेनमा भएको प्रत्याक्रमणको दौरान युक्रेनी फौज रुसी नियन्त्रणमा रहेका इजुम र कुपियान्स्क शहरमा प्रवेश गरेको देखिएको थियो । 

बेलायती रक्षा अधिकारीहरूले ती सहरहरू बाहिर भिडन्त जारी रहेको जनाएका छन् । त्यसैगरी किभस्थित अधिकारीहरूले युक्रेनी फौज इजुम वरपरका थुप्रै बस्तीमाथि नियन्त्रण जमाउन अझै संघर्षरत रहेको बताएका छन् । 

रुसको रक्षा मन्त्रालयले पनि आफ्नो फौज इजुम र कुपिआन्स्कबाट पछि हटेको पुष्टि गरेको छ । खार्किभमा रुसले स्थापना गरेको सरकारका प्रमुखले त्यहाँका जनतालाई ज्यान जोगाउन रुसतर्फ जान सिफारिस गरेका छन् । रुसले गत २४ फ्रेब्रुरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । -बीबीसीबाट