बेइजिङः चीनभरि कोभिड लकडाउनको क्षेत्रमा बसिरहेका वासिन्दाहरूले खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरूको अभाव भएको गुनासो गरिरहेका छन् । 

कम्तीमा तीसवटा क्षेत्रमा लाखौँ मानिसलाई सरकारले आंशिक वा पूर्ण तालाबन्दी अन्तर्गत घरमा बस्न आदेश दिइएको छ । पश्चिमी सिन्जियाङका एक वासिन्दाले भनेका छन्, “हाम्रो पिठो, चामल र अन्डा सकिएको १५ दिन भइसक्यो । साथै बालबालिकाका लागि दुध सकिएको पनि धेरै दिन भइसक्यो ।“

आगामी अक्टोबरमा कम्युनिस्ट पार्टीको वार्षिक महाधिवेशन सुरु हुनु अघि स्थानीय महामारीहरू नियन्त्रण गर्न सरकारी अधिकारीहरू खटिरहेका छन् । चीनले शून्य–कोभिड नीति अपनाएकाले थोरै मात्र संक्रमणका घटना देखिना साथै कडा लकडाउन लगाउने गरिएको छ ।

सोमबार मुलुकभरि ९४९ जना नयाँ संक्रमित पहिचान भएका छन् । दक्षिण–पश्चिमी गुइझोउ प्रान्तको स्थानीय प्रशासनले प्रान्तीय राजधानी ग्वियाङमा बिना पूर्व सूचना अचानक लकडाउन गरिदिँदा करिब पाँच लाख वासिन्दाले कुनै तयारी गर्न नपाएको बताइएको छ । -बीबीसीबाट