सेन्ट जोहन्सः क्यारिबियन मुलुक एन्टिग्वा एन्ड बार्बुडाले बेलायतका महारानी एलिजाबेथको निधनपछि मुलुकलाई गणतन्त्र घोषणा गर्नेबारे मतदान गराउने त्यहाँका प्रधानमन्त्री ग्यास्टन ब्राउनीले बताएका छन् ।

ब्राउनीले मुलुकले तीन वर्ष भित्र जनमत संग्रह गराउने तर यो कदम कुनै शत्रु भाव राखेर गर्न नलागेको जोड दिएका छन् । चार्ल्स तृतीय मुलुकको राष्ट्राध्यक्ष हुने निश्चित भएपछि उनले यो टिप्पणी गरेका हुन् ।

ब्राउनी यदि आगामी वर्षको चुनावमा आफू पुनः निर्वाचित भएको स्थितिमा आफूले देशलाई गणतन्त्रमा लाने विषयमा जनमत संग्रह गराउन चाहेको बताएको छन् ।

उनले आगामी चुनाव जित्ने पनि आशा व्यक्त गरेका छन् । प्रतिनिधिसभाका कुल १७ मध्ये उनको पार्टीको हातमा १५ सिट रहेको छ । साथै उनले यस विषयमा जनतामा जनमत संग्रह गराउनका लागि कुनै विशेष माग नरहेको पनि स्वीकारेका छन् । ब्राउनीले आईटीभी न्युजलाई भनेका छन्, “मेरो विचारमा अधिकांश जनताले यस विषयमा सोच्ने जमर्को समेत गरेका छैनन ।“

यसअघि अस्ट्रेलियाले आगामी चार वर्ष भित्रै यस्तै जनमत संग्रह गराउने विषयलाई अस्वीकार गरिसकेको छ । महारानी एलिजाबेथको निधनसँगै अस्ट्रेलियामा राजतन्त्रबारे बहस सुरु भएको छ ।

गत मे महिनामा निर्वाचित भएका प्रधानमन्त्री एन्थोनी अल्वुनिज रिपब्लिकन हुन् । स्काइ न्युजका अनुसार उनले आफ्नो पहिलो कार्यकालमा यस्तो कुनै जनमत संग्रह नहुने र अहिलेको अवस्थामा संविधानकोबारे यो कुनै ठुलो प्रश्न नभएको बताएका छन् । -बीबीसीबाट