सिडनीः अस्ट्रेलियामा आफैँले पालेको कंगारुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । 

पर्थ सहरदेखि करिब चारसय किलोमिटर दक्षिणमा पर्ने रेडमन्डका ७७ वर्षीय वृद्धको मृत्यु भएको हो । उनलाई कंगारुको आक्रमणबाट घाइते भएको अवस्थामा एकजना नातेदारले फेला पारेका थिए । 

वृद्धको उपचारका लागि ग्रामीण क्षेत्रमा रहेको घटनास्थलमा एम्बुलेन्समा पुगेका स्वास्थकर्मीलाई समेत सो कंगारुले अवरोध गरेको थियो । 

प्रहरीका अनुसार अन्ततः घाइते वृद्धसम्म पुग्न कंगारुलाई गोली हानेर मार्नुपरेको थियो । ती वृद्धको घटनास्थलमै मृत्यु भएको थियो ।  

अस्ट्रेलियामा करिब ५ करोडको सङ्ख्यामा जंगली कंगारु रहेका छन् । कंगारुको अधिकतम वजन ९० किलाग्राम र उचाई २ मिटरसम्म हुने गरेको छ । तर, तिनीहरूबाट ज्यानै जानेगरी आक्रमण विरलै मात्रामा हुने गरेको छ । 

सन् १९३६ पछि कंगारुको हमलाबाट मानिसको ज्यान गएको यो पहिलो घटना हो । 

कंगारुको बानीबेहोरासम्बन्धी विशेषज्ञ तथा सहायक प्राध्यापक ग्रायमी कोल्सनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)लाई बताएका छन्, “कंगारुका हतियारको रूपमा तिखा दाँत र नङ्ग्रा तथा शक्तिशाली खुट्टा हुन्छन् । पक्कै पनि यदि तिनीहरूलाई कतै कुनै कुनामा राखिएमा वा रिस उठाइएको खण्डमा तिनीहरू निकै खतरनाक बन्न सक्छन् । कंगारु र मानिसबीचको मुख्य समस्या भनेकै दुवै प्राणी सिधा उभिने गर्नु हो । दुई खुट्टामा सिधा उभिएको मानिसलाई भाले कंगारुले चुनौतीको रूपमा लिने गर्दछ ।”

गत जुलाईमा मात्र एकजना ६७ वर्षीया महिलालाई क्विन्सल्यान्डमा हिँडिरेको अवस्थामा कंगारुले आक्रमण गर्दा उनलाई अन्य चोटपटक लाग्नुका साथै उनको एउटा खुट्टा भाँचिएको थियो । -बीबीसीबाट