जेरुसेलमः लाखौँ डलर मूल्यको लुटिएको सिक्का वर्षौपछि इजरायललाई फिर्ता गर्न लागिएको छ । 

दश लाख अमेरिकी डलरको उक्त ऐतिहासिक सिक्का खोज्न झण्डै २० वर्ष लागेको थियो । यसको खोजीका लागि विभिन्न महादेशमा जासुस परिचालन गरिएको थियो । 

एकजना अमेरिकी अधिकारीले अन्ततः ऐतिहासिक महत्व बोकेको सन् ६९ का यो सिक्का आफ्नो घर फर्कन लागेको बताएका छन् । 

संसारमा यस्ता सिक्का चारवटा मात्र रहेको बताइएको छ । 

झण्डै दुई हजार वर्ष अघि यहुदी क्रान्तिको दौरान यो सिक्का निष्कासन गरिएको थियो । सन् २००२ मा इजरायलमा लुटिएको यो सिक्का लामो खोजीकार्य पछि जहाँबाट ल्याइएको हो त्यहीँ फर्काइन लागेको हो । 

इजरायल पुरातात्विक निकाय (आईएए)ले सुराकीहरूमार्फत जेरुसेलमको दक्षिण भागमा पर्ने एल्ला उपत्यकाबाट प्यालेस्टाइनीहरूले यो सिक्का लगेको थाहा पाएयता यसको खोजीकार्य सुरु भएको हो । 

आईएएले यसको खोजीका क्रममा इजरायल, जोर्डन र बेलायतका अवैध रूपमा पुरातात्विक वस्तुहरूको कारोबार हुने बजारहरूमा वर्षौँ चहारेको बताएको छ । 

आईएएले अन्ततः सन् २०१७ मा कोलोराडोको डेनेभरमा एउटा लिलाममा बिक्रीका लागि राख्न यसलाई अमेरिका निर्यात गरिएको पत्ता लगाएको पनि बताएको छ । 

आईएएले यसबारे अमेरिकी मातृभूमि सुरक्षा अनुसन्धान निकाय (एचएसआई)लाई सूचना दिएपछि एचएसआईले यस सिक्कालाई आफ्नो नियन्त्रणमा लिएको हो । 

यससम्बन्धी बाँकी अनुसन्धान कार्य म्यानह्याटन जिल्ला न्यायालयको पुरातात्विक वस्तु ओसारपोसार एकाइ (एटीयू)ले गरेको थियो । 

सोमबार म्यानह्याट जिल्ला अदालत कार्यालयमा यो सिक्का संयुक्त राष्ट्र संघका लागि इजरायली राजदूत गिलाद एर्दान लगायत इजरायली र अमेरिकी अधिकारीहरूको उपस्थितिमा सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको हो । -बीबीसीबाट