इनरुवाः सुनसरीमा रहेको प्रदेश सरकार मातहातको कृषि ज्ञान केन्द्रले किसानलाई दिने अनुदान र सहुलियत कर्जामा नेता र बिचौलियाको हालिमुहाली हुने गरेको पाइएको छ ।

सरकारी अनुदानमा राजनीतिक पहुँचवाला र बिचौलियाले बजेट कब्जा गर्न थालेपछि वास्तविक किसानलाई सरकारी अनुदान आकाशको फल साबित भएको हो ।

इनरुवाबाट सञ्चालित कृषि ज्ञान केन्द्रमा कार्यालय प्रमुख भएर आउनका लागि पनि प्रदेश सरकारको तालुकवाला मन्त्रालयका मन्त्री र नेतासँग पैसाको सौदाबाजी हुने गरेको छ । 

सुनसरी जिल्ला अन्नबाली, नगदे बालीका लागि उर्वर मानिन्छ । जिल्लामा खेतीका लागि प्रदेश सरकारले वार्षिक १० करोडभन्दा माथिको बजेट किसानका लागि अनुदानमा दिन निकासा गर्दै आएको छ ।

कृषि मन्त्रालयबाट प्राप्त बजेट कृषि ज्ञान केन्द्रको प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्दै आएका कार्यालय प्रमुख निलकमल सिंहले बिचौलिया र दलका नेताहरुको सेटिङमा कागज अनुदान देखाएर करोडौ रकम हिनामिना गर्दै आएका छन् ।

हरिनगरका किसान लक्ष्मण मेहताले सुनसरीका किसानका लागि प्राप्त बार्षिक कृषि कार्यक्रमको निर्देशिका, बजेट, कार्यक्रम संचालन हुने क्षेत्र, कर्जा, अनुदानजस्ता विषयको सूचना किसानसम्म पुग्नै नदिई पहुँचवालाले फाइदा लिइरहेका छन् ।

बिचौलियालाई नजराना (घुस) नबुझाएकाले आफूले अनुदान नपाएको उनले दुखेसो पोखे ।

सरकारी अनुदानबाट खेती गर्ने किसानहरु नभएर ज्ञान केन्द्रका बिचौलिया मात्रै हुने गरेकाले धेरैजसो किसानले घरजग्गा धितो राखेर, योजना पारित गराएर निजी बैक तथा वित्तिय संस्थाबाट चर्को व्याज दरमा ऋण लिएर खेती गर्दै आएको किसानहरु बताउँछन ।

प्रदेश १ कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले निश्चित विधि र प्रक्रिया पूरा नगरेका किसानले नपाएको हुन सक्ने बताए । आवश्यक प्रकृया पूरा गर्न नसकेका कारण किसानले अनुदान नपाएको उनले दाबी गरे ।