इटहरीः मोरङको विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चौकबाट प्रहरीले  न्यून भन्सार मूल्याङ्कन गरी ल्याउँदै गरिएको ठूलो परिमाणको सामानसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

पानी तताउने गिजर, फुड्स सप्लिमेन्टसहितका सामानमा न्यून मुल्याङ्कन गरी आयात भइरहेको सूचनाको आधारमा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

भारतीय नम्बर बीआर ३८इ७४२५ ट्याक्टरमा करिब २१ लाख रुपैयाँ पर्ने सामानसहित नियन्त्रणमा लिइएको हो ।

प्रहरीले चालक भारतको अररिया जोगबनी पञ्चायत १४ का २८ वर्षीय रोशन यादवलाई पनि नियन्त्रणमा लिएको छ ।

उनलाई ट्याक्टरसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।