सोलः दक्षिण कोरियाली प्रहरीले आफ्ना दुई बालबालिकाको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको बताएको छ । गत महिना न्युजिल्यान्डमा ती दुई बालबालिकाको शव सुटकेसभित्र फेला परेको थियो । 

इन्टर पोलले रेड नोटिस जारी गरेपछि ती महिलालाई दक्षिण कोरियामा पक्राउ गरिएको हो । सुटकेसभित्र लाश भेटिएको घटनाले न्युजिल्यान्ड नै स्तब्ध बनेको थियो । अकल्यान्डस्थित एउटा स्टोरेज युनिटबाट किनेर ल्याइएका सुटकेसमा अपरिचितहरूले लाश फेला पारेका थिए । 

ती लाश केही वर्षदेखि स्टोर गरेर राखिएको विश्वास गरिएको थियो । कोरियाली प्रहरीले मृत बालिबालिको उमेर क्रमशः ७ र १० वर्ष भएको बताएको छ । 

दक्षिण कोरियाबाट ती महिलाको सुपुर्दगीका लागि न्युजिल्यान्डले आवेदन दिइसकेको छ । अकल्यान्डस्थित प्रहरीले आफूहरूले दक्षिण कोरियाली निकायहरूसँग उनको खोजीकार्यका लागि निकट सहकार्य गरेको र गत महिना उनी दक्षिण कोरियामा रहेको सूचना प्राप्त गरेको बताएको छ । 

आफ्ना सन्तानको हत्या पछि ती महिला सन् २०१८ मा भागेर दक्षिण कोरिया पुगेको दक्षिण कोरियाली प्रहरीको भनाइ छ । ४२ वर्षीया ती महिला कोरियाली मुलकी न्युजिल्यान्डका नागरिक भएको बताइएको छ । 

ती महिलाको पक्राउका लागि इन्टरपोलले विश्वभरि नै पक्राउ पुर्जी जारी गरेको थियो । बिहीबार मध्यराति दक्षिण कोरियाको दक्षिण–पूर्वी सहर उल्सानस्थित एउटा अर्पाटमेन्टमा छापा मारेर उनलाई पक्राउ गरिएको थियो । -बीबीसीबाट