बिर्तामोडः पूर्वी तराईका जिल्लामा भएका विभिन्न आपराधिक घटनामा नेपाल र भारतका नागरिकको संलग्नता र सहयोगमा अपराध हुने गरेको अनुमान प्रहरीको छ ।
पछिल्लो समय सुनसरी र झापा भारतीयका लागि सुरक्षित अपराधस्थलका रूपमा चिनिन थालेको छ । भारतीयसँग नाता सम्बन्धका साथै आर्थिक लेनदेनसम्म हुने गरेपछि आवतजावत बढ्दै गएर मिलोमतोमै आपराधिक घटना हुने गरेको देखिएको छ । सुनसरीमा भएका शृङ्खाबद्ध हत्याका घटना र झापामा भएको अपहरणको घटनापछि प्रहरीले यस्तो निष्कर्ष निकालेको बताइएको छ ।
हालै झापाको गौरीगञ्जसँग सीमा जोडिएको भारतको सुपौल जिल्ला विहार राज्यअन्तर्गतका ७ वर्षीय बालक अपहरणमा परे । उनको अपहरणको उद्देश्य फिरौतीसँग सम्बन्धित थियो ।
सो घटनामा भारतीयसँगै सीमावर्ती गौरीगञ्ज गाउँपालिकाका तीन नेपालीसमेत पक्राउ परे । राजनीतिक तथा सामाजिक रूपमा चिनिएका गौरीगञ्जका बद्री यादवसहित अन्य २ जनाले बालक अपहरण गरी रु १५ लाख फिरौती मागेका थिए ।
उनीहरूले भारत विहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सद्दामका छोरा ७ वर्षीय मैफुजलाई मङ्सिर २० गते घरैबाट अपहरण गरेका थिए । अपहरणपछि गौरीगञ्ज हुँदै दमकको एक होटलमा बन्धक बनाएर फिरौती मागेका थिए ।
सुनसरीमा भएका हत्या घटनामा पनि नेपालीको संलग्नता वा सहयोग हुन सक्ने प्रहरीको अनुमान छ । केही समय अघि गौरीगञ्ज–२ का एक नेपालीको सीमावर्ती भारतीय दशगजामा भारतीय अपराधीले हत्या गरेका थिए । त्यो घटनामा नेपाल प्रहरीले भारतमै गएर अपराधी पहिचान गरी पक्राउ गरेको थियो । यी सब घटनाको पृष्ठभूमि र प्रकृति हेर्दा सीमा क्षेत्रमा रहेका २ देशका नागरिकको संलग्नता र सहयोगमा अपराध हुने गरेको पाइएको प्रहरीको भनाइ छ ।