इटहरीः स्थानीय तह सदस्य निर्वाचनमा गरेको खर्चको विवरण समयमा नबुझाउँदा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, काठमाडौँ महानगरका बालेन्द्र साह, उपमेयर सुनिता डङ्गोल र इटहरी उपहानगरपालिकाकी उपमेयर संगीता चौधरीमाथि निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ अनुसार उनीहरुउपर जरिवाना गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार धरानका मेयर हर्क साम्पाङ र इटहरी उपमहानगरकी उपमेयर संगीता चौधरीले जनही पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सात लाख रुपैयाँ तिर्नुपर्ने भएको छ भने उपमेयर सुनिता डङ्गोलले साँढे पाँच लाख रुपैयाँ जरिवाना बुझाउनुपर्ने भएको छ ।
यसैगरी, विराटनगर महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा कार्कीले पनि जनही साढे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । उनीहरुका साथै देशभरका कुल एक लाख २३ हजार ६ सय २४ उम्मेदवारमाथि निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ । ६ महिनाभित्र जरिवाना नबुझाए उनीहरुको पद स्वतः खारेज हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने आयोगको सूचना अटेर गरेका कारण उम्मेदवारहरु कारबाहीमा परेका हुन् ।