इलामः इलामको सन्दकपुर गाउँपालिकामा निर्मित सामुदायिक भवनको उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश १ अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय इलाम मातहत निर्माण भएको भवनको सँस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूले उद्घाटन गरिन् ।
२ करोड २३ लाख ६२ हजार ४४६ रुपैयाँको लागतमा वडा नं ३ को देउरालीमा निर्माण भएको भवनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । २०७६ असार ३० गते सम्झौता भई काम सुरु भएको सामुदायिक भवन सेवालुङ÷किरात जेभीले निर्धारित समयमा सम्पन्न गरेको हो । भवन उद्घाटन गर्दै पर्यटनमन्त्री लङ्वाले निर्माणाधीन भवन ५ तलासम्म थप्न सक्नेगरी डिजाइन भएकाले आगामी वर्ष थप संरचना बनाइने बताइन् ।
उनले सन्दकपुर क्षेत्रको पर्यटकीय गन्तव्यको विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताइन् । लङ्वाले सन्दकपुर क्षेत्रमा विकासका लागि आवश्यक बजेट प्रदेश सरकारले व्यवस्थापन गरेकाले भुक्तानीका लागि समस्या नहुने बताइन् । उनले खानेपानी, पर्यटन र अन्य पुर्वाधारको क्षेत्रमा विगतबाट विशेष जोड दिँदै आएको बताइन् । कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले गुणस्तरिय काम नगर्ने र योजनालाई ढिलासुस्ती गरेर अलपत्र पार्ने ठेकेदारलाई प्रवेश निषेध रहेको बताए । उनले प्रकृतिले अथाह सम्भावना दिएपनि व्यवस्थापन गर्न नसक्दा सोचे अनुरुप सन्दकपुर क्षेत्रका पर्यटकीय गन्तव्यबाट लाभ लिन नसकेको बताए ।
गाउँपालिकाको कार्यालय सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको भवनमा आवश्यक शाखाहरु सञ्चालन गर्ने तयारी भएको छ । पालिकामा अन्य शाखाहरु स्थापनाका लागि कोठा अभाव भएकाले शाखाहरु व्यवस्थापन गरी जनतालाई सहज रुपमा सुविधा दिने गाउँपालिकाले लक्ष्य राखेको छ । गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले विकासको सम्भाव्यता भएको सन्दकपुर क्षेत्रको प्रगति ५ वर्षपछि मात्र देखिने बताए । उनले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सुमधुर रहेकाले विकासका हरेक कार्य गर्न सहज रहेको बताए ।