इस्लामाबादः पाकिस्तानका विभिन्न भागमा मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । ९२ जना घाइते भएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमध्येमा १६ बालबालिका र सात महिला रहेका छन् । यो वर्षको बर्खे झरीका कारण देशका विभिन्न स्थानमा बाढी आउँदा एक हजार ५४५ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार ८५० जना घाइते भएका छन् ।

देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख २० हजार घर ध्वस्त भएका तथा नौ लाख ३५ हजार ७९५ चौपाया मरेका छन् । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अरू सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् । -रासस/सिन्ह्वा