इटहरीः नजिकिँदै गरेको दसैँ, तिहार तथा अन्य चाडपर्वको अवसर पारेर गरिमा विकास बैंकले प्रदेश एकमा वित्तीय साक्षरता र चाडपर्वको शुभकामना आदानप्रदानलाई तीव्रता दिएको छ ।
गरिमा बैंकको इटहरी शाखाले चाडपर्व लक्षित शुभकामना आदानप्रदान गर्दै घरघरमा वित्तीय साक्षरता फैलाउन घरदैलो अभियान नै चलाएको छ । घरदैलो अभियानअन्तर्गत बैंकले आफ्ना सेवासुविधाको बारेमा जानकारी गराउँदै आफ्ना विभिन्न खाता योजनाको बारेमा सर्वसाधारणलाई जानकारी गराउने र देशभर १२ हजारभन्दा बढी नयाँ खाता खोलाउने गरी कार्यक्रम सञ्चालन गरेको बैंककी प्रदेश १ प्रमुख रक्षा भट्टले जानकारी दिएकी छन् । भट्टका अनुसार बैंकले प्रदेश १ का १५ वटै शाखामा घरदैलो तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
धेरैभन्दा धेरै जनतालाई गरिमा विकास बैंकको बारेमा जानकारी गराउने र आफ्नो प्रोडक्टको बारेमा अवगत गराउन वित्तीय साक्षरतासँगै घरदैलो अभियान सञ्चालन गरेको बैंककी इटहरी शाखा अपरेसन इन्चार्ज अनिसा बस्नेत बताउँछिन् । (ख) वर्गको बैंकिङ्ग कारोबारको इजाजत पाएको गरिमा विकास बैंकले देशभरि १२० वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टरमार्फत् ६ लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्याइरहेको जनाएको छ । बैंकले निम्न वर्गकादेखि लघु उद्यम कर्जा, सबै प्रकारका व्यवसायी तथा उद्यमीलाई प्रदान गरिरहेको र बचतमा समेत उच्चतम व्याज प्रदान गर्दै आइरहेको बताएको छ ।