इटहरीः निर्धारित समयसीमामा निर्वाचन खर्च नबुझाएको भन्दै सुनसरीको गढी, देवानगञ्ज र भोक्राहानरसिहं गाउँपालिकाका निर्वाचित पदाधिकारीलाई निर्वाचन आयोगले साढे ३ लाख जरिवाना गरेको छ । 

 आयोगले तोकेको समयमा आफ्नो निर्वाचनको खर्च विवरण नबुझाउने स्थानीय तहको निर्वाचनमा होमिएर निर्वाचित तथा पराजित गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षलाई ३ लाख ५० हजार रुपैँया जरिवाना बुझाउन निर्वाचन आयोगले ताकेता गरेको हो । 

तोकिएको समयमा निर्वाचनको खर्च विवरण बुझाउन अटेर गर्ने गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको नाम नै प्रकाशन गरेर निर्वाचन आयोगले जरिवाना बुझाउन आग्रह गरेको छ । सुनसरीको बिभिन्न पालिकाबाट निर्वाचनमा निर्वाचित भएर पनि खर्च विवरण नबुझाउने र चित्तबुझ्दो स्पष्टीकरण समेत नदिने पदाधिकारीमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी पनि रहेका छन् ।

चौधरी नेकपा एमालेबाट गढी गाउँपालिकाको निर्वाचनमा उम्मेद्वार बनेर जितेका थिए । यसैगरी गढी गाउँपालिकाका १० जना अध्यक्ष पदका उम्मेद्वारले ३ लाख ५० हजार रुपैँयाका दरले जरिवाना बुझाउनु पर्ने भएको छ । यस्तै गढी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष अनिताकुमारी साहसंगै पराजित उपाध्यक्षका ७ जना उम्मेद्वारले समेत निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै जरिवाना तिर्नेमा परेका छन् । 

यता जनता समाजवादीबाट देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार भई निर्वाचित बनेका बेचन प्रसाद मेहता पनि जरिवानामा परेका छन् भने सोही गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार बनेका अन्य ११ जनाको नाम पनि जरिवाना तिर्नेमा परेका छ । यस्तै देवानगञ्ज गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष कुमारी बिभा यादवले पनि निर्वाचन खर्चको विवरण नबुझाएपछि साढे ३ लाख जरिवाना तिर्नुपर्ने भएको छ । उनिसँगै उम्मेद्वार बनेर पराजित बनेका अन्य ५ जना उपाध्यक्ष उम्मेद्वार पनि जरिवानामा छन् ।

यस्तै भोक्राहा नरसिहं गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाले पनि निर्वाचन खर्च विवरण नबुझाउँदा साढे ३ लाख जरिवानामा छन् । सोही गाउँपालिकाका अन्य ११ जना पराजित अध्यक्ष उम्मेद्वारले पनि खर्च विवरण नबुझाउँदा जरिवाना तिर्नुपर्ने भएको छ । जरिवानामा भोक्राहा नरसिंह गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष सुनिता कुमारी उराव पनि परेकी छन् । उनिसँगै उपाध्यक्ष उम्मेद्वार बनेका ८ जनालाई पनि आयोगले जरिवाना तिर्न भनेको छ । यता हरिनगरा गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेस गफार अंसारी मिया पनि जरिवानामा परेका छन् । उपाध्यक्ष कांग्रेसबाटै निर्वाचित रिमझिम कुमारी भगत सहित पराजित उपाध्यक्षहरमा ५ जनालाई जरिवाना तिर्न निर्वाचन आयोगले भनेको छ ।