इटहरीः प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीले ट्रिपरमाथि समयसीमाको व्यवस्था गरेको छ । २०७५ पुस १ गतेदेखि लागू हुने गरी प्रहरीले समयसीमा लगाएको हो ।
बढ्दो सवारी जामलाई व्यवस्थापन गर्न र ट्रिपरबाट हुने दुर्घटना कम गर्न यो व्यवस्था गरिएको प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताए । बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म टिपर चलाउन निषेध गरिएको हो । सो समयमा सबैभन्दा धेरै सवारी गुड्ने र दुर्घटना बढी हुने भएकाले यस्तो निर्णय गरिएको पौडेलको भनाइ छ ।
बर्खाको समयमा खोला निकासी बन्द भएपछि हिउँदको समयमा भौतिक संरचना बढी निर्माण हुने भएकाले ट्रिपरमार्फत् निर्माण सामग्र बढी ढुवानी हुने गर्छ । बढ्दो शहरीकरण र त्यससँगै बढेका क्रसर उद्योगका कारण ट्रिपरको सङ्ख्या पनि बढिरहेको छ ।
एकातिर प्रदेश १ मा ट्राफिक प्रहरीको सङ्ख्या कम हुनु र अर्कातिर क्रसर सञ्चालकले मनोमानी गर्ने परिपाटीले यो व्यवस्था कार्यान्वयन होला भन्न सकिन्नँ । ट्राफिक प्रहरीको आँखा छल्ने र भित्री बाटोबाट भए पनि ट्रिपर सञ्चालन बढी हुने धेरैको अनुमान छ । जसले गर्दा कमजोर तरिकाले बनेका भित्री बाटा छिटै भत्कने खतरा रहेको छ ।
एक वर्ष अगाडि हर्न निषेधको घोषणा गरेको ट्राफिक प्रहरीले यस पटक ट्रिपरमा समयसीमा लगाएको छ । हर्न निषेध घोषणा गरेको १ वर्ष बितिसक्दा पनि अझै हर्न निषेध हुन सकेको छैन । ट्राफिक प्रहरीकै अगाडि चर्को हर्न बज्ने प्रदेश १ का शहरहरूमा ट्रिपरमा लगाइएको समय सीमा पनि कार्यान्वयन हुन सक्नेमा शङ्का उत्पन्न भएको छ ।
उता, पौडेल भने आवश्यक स्थानमा मात्र हर्न बज्ने अवस्था सिर्जना गरेको भन्दै कार्यान्वयन भएको तर्क गर्छन् । ‘हामीले अनावश्यक हर्न मात्र निषेध गरेको’ भन्दै उनले सो निर्णयको बचाउ गरे ।
ट्राफिक प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार ट्रिपरकै कारण प्रदेश १ मा साउनदेखि यता १२ वटा दुर्घटनाहरू भए । जसमा ५ जनाको ज्यान गयो भने १२ जना गम्भीर घाइते भएर अझै पनि उपचार गराइरहेका छन् ।
प्रहरीका अनुसार सबैभन्दा धरै दुर्घटना हुने जिल्लाहरूमा उदयपुर, सुनसरी र मोरङ रहेका छन् । यी जिल्ला सबैभन्दा धेरै क्रसर सञ्चालन हुने जिल्लाहरूमा पर्छन् ।
यसभन्दा अगाडि काठमाडौँ उपत्यकामा राती ८ बजेपछि ट्रिपर चलाउन निषेध गरिएको छ । त्यसको ५ महिनापछि प्रदेश १ मा पनि ट्रिपर चलाउन कडाइ गरिएको हो ।
यो व्यवस्था पुस १ गतेबाट लागू गरिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख पौडेलका अनुसार बढ्दो शहरीकरण र तीव्र गतिका कारण हुने दुर्घटनालाई कम गर्न यसो गरिएको हो ।