इटहरीः हाम्रो नेपाली पार्टीले स्वतन्त्र उम्मेद्वारहरुलाई लौरो चिन्ह बाँड्दै हिँडेको भन्दै निर्वाचन आयोगले ३ दिने स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगमा दर्ता भएको हाम्रो नेपाल पार्टीका अनन्तराज घिमिरेले स्वतन्त्र लौरो अभियान भन्दै लौरो लाई स्वतन्त्रको चुनाव चिन्हको रुपमा गलत प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले शुक्रबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
आयोगमा दर्ता रहेको घिमिरेको दललाई प्रदान गरिएको चुनाव चिह्न (लौरो) स्वतन्त्र उम्मेद्वारहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
तीन दिनभित्र जवाफ दिन आयोगले घिमिरेलाई भनेको छ ।
स्वतन्त्र उम्मेद्वारहरुले लौरोलाई साझा चुनाव चिन्हको रुपमा अघि सादै गर्दा आयोगले सोधेको स्पस्टिकरण अव भने लौरो स्वतन्त्र अभियान नरहेको पुष्टि गरेको छ ।
दललाई प्रदान गरिएको निर्वाचन चिह्न स्वतन्त्र उम्मेद्वारको निर्वाचन चिह्नको समूहमा नरहने र उम्मेद्वारहरुलाई प्रदान गर्न नसकिने हुँदा दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिष्पर्धाको सिद्धान्त विपरीत देखिएको आयोगको ठहर छ ।
यस्तो गलत प्रचारले आम जनमानसमा भ्रम तथा अन्यौल सिर्जना गर्ने भएकाले त्यस्ता भ्रामक कुराहरु प्रचार प्रसार नगर्न नगराउन र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न भनी राखिएका सामग्रीसमेत तुरुन्त हटाउन आयोगले हाम्रो नेपाल पार्टीलाई निर्देशन गरेको छ ।
आयोगले तीन दिन भित्र आयोगमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई आदेश दिएको छ।
अब निर्वाचन आयोगले घिमिरेलाई स्वतन्त्र अभियन्ताका रुपमा भ्रम नफैलाउन आयोगले निर्देशन दिएपछि स्वतन्त्र उम्मेद्वारले लौरो चिन्ह प्रयोग गर्न नपाउने भएका छन् ।