धरानः धरानका मेयर हर्क साम्पाङ्गको अभियानमा श्रमदानमा खटेका धरानेले निशाने खोलाको पानी धरानको स्वस्तिका चौकमा खसाएका छन् । 

निशाने खोलाको दोभानबाट १० इन्चे पाइपमा पानी स्वास्तिका चौकमा आइपुगेका हो । 

धरानका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत सञ्चालन भएको श्रमदानबाट निशाने दोभान देखि १० इन्चे पाइपबाट स्वस्तिका चौकमा आइतबार पानी झराइए पछि खुसियालीमा नुहाउनेको भिड लागेको थियो  । 

मेयर हर्क साम्पाङले २५ दिनमा निशाने दोभानबाट स्वस्तिका चौकमा रहेको खानेपानीको ट्याङ्कीमा पानी ल्याईपुर्याउने गरी काम गर्ने भनेकोमा २१ दिनमै स्वस्तिका चौकमा पानी आइपुगेको बताइएको छ । 

मेयर साम्पाङले संक्षिप्त सम्बोधन गर्दै मलाई हर्क साम्पाङ भनेर हिरो बनाउनुभयो तर वास्तविक हिरो तपाई जनता भएको बताएका थिए । ‘ मैले त बेल्चा लिएर यसो के हिँडेको थिए तपाईँहरूले मलाई पच्छ्याउनुभयो । आज त्यही तपाईँहरूको साथ र सहयोगको परिणाम हो ’ उनले भने । 

निःस्वार्थ भावनाका साथ देश विदेशबाट साथ सहयोग अनि धरानवासीको श्रमदानको परिणामले सफलता पाएकोले स्वस्तिका चौकमा पानी झार्न सफल भएको बताए । 

स्वस्तिका चौकमा पानी शनिवार नै झार्ने भनिएको थियो । तर अविरल वर्षाका कारण सर्दु, खर्दु र निशाने खोलामा भेल बाढी आएकोले पानी आएको थिएन  । आइतबार मेयर आफै मुहानमा पुगेर पानी फर्काएर आए पछि स्वस्तिका चौकमा पानी झरेको थियो । स्वस्तिका चौकमा पानी झर्दा त्यहाँ उपस्थित सयौँ सर्वसाधारण पानीमा नुहाएर खुसीयाली मनाएका थिए । 

स्वस्तिका चौकको खानेपानी ट्याङ्कीमा यस भन्दा अघि चारकोसे जङ्गलबाट खानेपानी पम्प गरेर ल्याइएको थियो । अहिले सर्दु, खर्दु र निशाने खोलाबाट ल्याइएको पानी पम्प विनै सहजै वितरण गर्न सकिने खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बताएका थिए । सोमबार देखि नियमित ट्याङ्कीमा पानी झराइने र वितरण गर्न थालिने बताइएको छ ।