इटहरीः गत बैसाख ३० गतेको स्थानीय निर्वाचनको खर्च विवरण समयमा नबुझाएको कारण निर्वाचन आयोगबाट जरिवाना तोकिएका उम्मेद्वारहरुले सिधै निर्वाचन आयोगको कार्यालयमा जरिवाना बुझाउन सक्ने भएका छन् ।
निर्वाचन आयोगले शनिवार एक सुचना जारी गर्दै निर्वाचनमा उम्मेदवार भई कानूनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनस्थित कार्यालय, सातवटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको हो ।
आयोगले कानुनबमोजिमको जरिवाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजस्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेश÷जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि निर्देशन दिएको थियो ।