इटहरीः नेकपा एमालेमा चरम विचार विहिनता र सिद्धान्तविहिनताको पराकाष्टा शुरु भएको भन्दै नेकपा एमालेका केन्द्रिय अर्थ तथा योजना बिभागका सचिव योगेन्द्र बहादुर शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
सानै उमेरदेखि लोकतान्त्रिक वामपन्थी आन्दोलनमा होमिएको शाहीले शनिवार एक विज्ञप्ती जारी गर्दै नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
नेपालको स्वाभिमान, राष्ट्रियता, समृद्धि र समानता हासिल गर्न सकिन्छ भन्ने अगाध विश्वास रहेको भन्दै शाहीले लोकतन्त्रका लागि लड्दै कम्युनिस्ट आन्दोलन एकिकृत हुन पर्दछ भनी मूल प्रवाहमा समाहित भएका बताएका छन् । उनले पार्टीमा अध्यक्षको मनोमानी, गैर जिम्मेवार तवरले गरिएको संसद विगठन जस्तो कार्यप्रति असहमति हुँदा हुँदै पनि पार्टीलाई सकभर विभाजन नगरौं भन्ने मनसायले १० बुँदे सम्बद्ध नेता र कार्यकर्ताहरु एमालेमै उभिन पुगेको मनन गर्दै यति गर्दा पनि पार्टीमा एकलौटी गर्न लागि परेको बताएका छन् ।
‘ बिभिन्न बेलामा वामपन्थीहरु र प्रजातान्त्रिक शक्तिहरुमाझ देखा परेका विभाजनका कारण नेपालले निरन्तर राजनीतिक अस्थिरता भोगी समानता, न्याय, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको आन्दोलन कमजोर भएको दृश्य हाम्रा अगाडि ताजै छ । लाखौं इमान्दार कार्यकर्ताको रगत र पसिनाबाट नै हरेक प्रगतिशिल आन्दोलनको आत्मा तयार हुन्छ । तर जब जब सत्ता र शक्तिका लागि नेतृत्व र पार्टीले आन्दोलनको मर्म, सिद्धान्त, कार्यकर्ताको रगत, पसिना र आँसु विर्सन्छ, यही विन्दूबाट चरम गुटबन्दी, सत्ता मोहका कारण हतकन्डाहरु, विचारविहिनता र सिद्धान्तविहिनताको परकास्टा शुरु हुन्छ । ’ शाहीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
नेकपा एमालेमा राजनीतिक फरक विचार प्रति देखिएको चरम असहिष्णुता र निषेध, एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिने देखि अझ पछिल्लो अबधिमा क। भिम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रह जस्ता कृयाकलाप लोकतान्त्रिक पार्टीको जीवनका कल्पना गर्न नसकिने विषय भएको शाहीको भनाई छ ।
‘नेकपा एमालेमा देखिएका यस्तै विविध असंगतिपूर्ण क्रियाकलाप र पूर्वाग्रही सोचका कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु ।’ शाहीले भनेका छन् ।