भोजपुरः सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिका परिवारका सदस्यले बेपत्ता सदस्यको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भोजपुरका पीडित तथा सरोकारवालासँग आज गरेको अन्तरक्रियाका सहभागीले सो माग गरेका हुन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका आफन्तले बेपत्ता छानबिन आयोगले अहिलेसम्म आफूहरूलाई न्याय दिन नसकेको भन्दै सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग गरेका थिए । आयोगले भने उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

२ जनाको पहिचान
आयोगमा भोजपुरबाट १९ जना बेपत्ता परिवारले उजुरी दिएकामा २ जनाको पहिचान भइसकेको बताइएको छ । आयोगका सदस्य डा विष्णु पाठकले भोजपुरमा आधाभन्दा बढी पीडितले राज्यबाट पाउने सेवासुविधा अझै नपाएको बताए । जिल्लामा बेपत्ता भएका १९ जनामध्ये ८ जनाका परिवारले मात्र राज्यबाट पाउने सेवासुविधा पाएको बताइएको छ ।