फाइल तस्बिर

इटहरीः प्रदेश नं १ की उपसभामुख सरस्वती पोखरेलले क्षमता भएर पनि खुम्चिएर बस्नुपर्दा वृत्ति विकासमा बाधा पुगेको बताएकी छिन् ।

विगतमा सक्रिय जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा यो पद पाए पनि उपसभामुखमा रहँदा खुम्चिएको अनुभव भएको र यसले पीडा भएको उनले बताइन् ।

‘विशिष्ट भनिए पनि आफूले नियुक्त गरेको प्रदेश सचिवभन्दा उपसभामुखको मर्यादा क्रम तल छ,’ पोखरेलले भनिन्, ‘धेरै जिम्मेवारी खोज्दा सभामुखले अन्यथा लिन सक्ने अवस्था आउन सक्छ । त्यसैले काम गर्न गाह्रो छ ।

सङ्घीय संसद् सचिवालयले सोमबार आयोजना गरेको अन्तरक्रियामा पोखरेलले यस्तो धारणा राखेकी हुन् ।

सभामुख बिरामी परेको बेला र पालो दिनुपर्दा मात्रै उपसभामुखलाई सभा सञ्चालन गर्न दिने अभ्यास सुधार्नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सातै प्रदेशका उपसभामुख सहभागी भएका थिए । जनताका कुरा अरू सांसद जसरी कड्केर राख्न पनि नपाइने भएकाले यो कार्यकाल सकिएपछि अहिलेकै भूमिकाले जनतामा जाँदा बास पनि नपाइने अवस्था आएको उपसभामुखहरूले बताएका थिए ।

कतिपय सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा सम्बोधन त परै जाओस् बस्ने कुर्सीसम्मको व्यवस्था नहुँदा असजिलो अनुभव लागेको पनि उनीहरूले सो अवसरमा बताएका थिए ।

महिलासँग सम्बन्धित समाचार सानो, भित्री पातामा नदेखिने स्थानमा छाप्ने प्रवृत्तिमा सुधार ल्याउन उपसभामुखले सञ्चारकर्मीलाई सुझाव पनि दिएका थिए ।
उपसभामुखका जिज्ञासाको जवाफ सङ्घीय प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले दिएका थिए ।