राजन भट्टराई
इटहरीः सोमबार इटहरीमा वेलकम होमको विषयमा मिडिया अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारबाट फर्केका नेपालीलाई विदेशमा सिकेको सीप र कमाएको धनलाई प्रयोग गरेर स्वदेशमानै स्वरोजगार बनाउने नेपाल सरकारको उदेश्य अनुरुप भएको कार्यक्रममा सुनसरी र मोरङ्गमा करिब ५० भन्दा बढी पत्रकारको उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा भएको कार्यक्रममा पहिलो चरणमा झापा,मोरङ्ग र सुनसरीमा हुने कार्यक्रममा झापाको दमक, मोरङ्गको बिराटनगरमा संचारकर्मीसँंग अन्तरक्रिया कार्यक्रम भैइसकेको छ । सोही अनुरुप सोमबार इटहरीमा पनि कार्यक्रम सम्पन्न भएको हो ।
परियोजनाले पौरखी नेपाल, ओरेक नेपाल , नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ , नेपाल महिला उद्यमी महासंघ, नेपाल व्यवसायिक तथा रोजगार महासंघ , तालिम प्रदायक संस्था एक्सन फोर डिभेलवमेन्ट सहित मिडिया पार्टनर कथा नेपालले कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा सुनसरी वैदेशिक रोजगार सघंका अध्यक्ष दुर्गा थापा, नेपाल टुरिजम वोर्डका कार्यकारी सदस्य कृष्ण शाह, इटहरी उपमहानगरपालिका सामाजिक शाखा अधिकृत शुशीला कार्की र नेपाल पत्रकार महासघं केन्द्रिय सदस्य अम्मर खड्का सहित अन्य सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थित थियो ।
परियोजनाले स्थानीय सरकारहरुसँग समन्वय गरेर आप्रवासी प्रोफायल तयार पारेर ती ब्यक्तिहरुलाई सम्मान गर्ने, श्रम बजारका चुनौतिहरुलाई सम्बोधन गर्न सार्वजनिक र निजी क्षेत्रलाई बलियो बनाउन सहयोग गर्ने (आइएलओ)का परियोजना सयोंजक तारा प्रसाद बरखरियाले बताए ।
उनका अनुसर वैदेशिक रोजगारबाट अबसर गुमाएर नेपाल फर्किएकाहरुको लागि आर्थिक पुनःएकिकरणका लागि उनिहरुको रोजगारी दक्षता अभिवृद्धि गर्ने, रोजगारीमा रुचि राख्नेहरुकालागि सीप अभिवृद्धि तालिम र सिप प्रमाणिकरण गरी विदेशबाट फर्किएकाहरुलाई उपयूक्त रोजगारीका लागी योग्य बनाउने रहेको छ ।