इटहरीः नेपाली काङ्ग्रेसको काठमाडौंमा जारी महासमिति बैठकमा सहभागी १ नम्बर प्रदेशका सदस्यहरूले पार्टीको विधान मस्यौदामा पदाधिकारीको विषयलाई लिएर विवादमा नअल्झिन नेतृत्वलाई सुझाव दिएका छन् ।

झापाका भरतेन्दु मल्लिकले विधान मस्यौदा प्रतिवेदन बैठकमा छिटो पेश गरे मात्र आवश्यक छलफल गर्न सकिने धारणा व्यक्त गरे ।

इलामका महासमिति सदस्य विष्णु दाहालले नेतृत्वबाट कार्यकर्तालाई समान व्यवहार नहँुदा पार्टीले निर्वाचनमा हार बेहोर्नुपरेको बताएका थिए ।

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ भन्ने नाराका साथ शुरु भएको महासमिति बैठक पुस ४ गतेसम्म चल्नेछ ।

बैठकमा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य गरी झण्डै एक हजार ७ सय प्रतिनिधि सहभागी रहेको बताइएको छ ।